एमाले पुर्वसांसदको अंगरक्षकद्वारा गोली हानी सर्वसाधारणको हत्या
राजविराज, श्रावण १ -
एमाले पूर्व सांसद जगदिश साहका अंगरक्षक प्रहरी हवलदार प्रवेश महतोले
चलाएको गोली लागेर सप्तरीमा शनिवार राती एक सर्वसाधारणको घटनास्थलमै मृत्यु
भएको छ ।
मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ गाविस ७ निवासी ३५ वर्षीय रामबाबु चौधरी
छन् । शम्भुनाथ गाविस ८ निवासी एवं एमाले पूर्व सांसद जगदीश साहको अंगरक्षक
महतोले राती ९ बजे चौधरीमाथि गोली प्रहार गरेका थिए ।
पीडित परिवारका अनुसार पुरानो रीसिइभी र राजनीति प्रतिसोधले पूर्व सांसद
साहकै निर्देशनमा उनका अंगरक्षकले गोली चलाएर चौधरीको हत्या गरेको आरोप
लगाएका छन् । पीडित परिवारका विनोद चौधरीले आफ्ना काकामाथि गोली चलाउने र
चलाउन निर्देशन दिने दुबैजनामाथि कारबाही गर्न माग गरेका छन् । उनले प्रहरी
हवलदार यसअघि पनि रक्सी खाएर गाउँका सर्वसाधारणमाथि कुटपिट गर्ने गरेको र
राती पनि रक्सी खाएरै घटना गरेको दाबी गरे ।
यता घटनाको विषयमा सप्तरी प्रहरीले केही बताउन चाहेको छैन । प्रहरी प्रमुख
गणेशबहादुर थापाले घटनाबारे केही समयपछि जानकारी गराउने बताएपनि लगत्तै
उनको मोबाईल अफ गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुबाडीले घटना दुःखद भएको बताउँदै जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको जानकारी दिए ।
यस्तै चौधरीमाथि आक्रमण गर्ने प्रहरी हवलदार महतोलाई पनि आक्रोशित स्थानीय
बासिन्दहरुले कुटपिट गरी घाईते बनाएको छ । उनको धरानस्थित विपि कोइराला
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
मृतकको शवलाई पोष्टमार्टमकालागि राती नै राजविराजस्थित सगरमाथा अञ्चल
अस्प्तालमा ल्याईएको छ । अस्पतालको मुर्दा घरमा राखिएको मृतकको शवको तस्विर
खिच्न समेत पत्रकारलाई प्रहरीले बञ्चित गरेको छ । आईतवार बिहान तस्विर
खिच्न गएका पत्रकारहरुलाई प्रहरी टोलीले ‘हामीलाई तस्विर खिच्न दिन माथिको
आदेश छैन’ भनेर फर्काएका छन् ।
Source:Kantipurnews