छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
पानीट्याङ्की (मोरङ), श्रावण ३ - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बाहुनीमा कार दुर्घटनामा गंम्भीर घाइते भएका एक युवकको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अनारमनी–३ विर्तामोडका ३० वर्षीय ईश्वरी ढुङ्गेल छन् ।
पूर्वतर्फ जाँदै गरेको बा ७ च ६९०६ नम्बरको कारले बाहुनी– ९ स्थित राजमार्गमा सोमबार साँझ साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भई रूखमा ठोक्किएर सो कार दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा साइकलयात्री बाहुनी–४ का ३० वर्षीय सनिर लिम्बू, कारमा सवार ढुङ्गेल र अनारमनी– ३ का ४० वर्षीय दीपेन्द्र अग्रवाल गंम्भीर घाइते भएका थिए ।
घाइते ढुङ्गेलको उपचारको क्रममा बिहान ५ बजे विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । अर्का घाइते लिम्बूको न्युरो अस्पतालमै उपचार भइरहेको छ भने अग्रवालको भारतको सिलीगुढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खलङ्गा (बैतडी)
खलङ्गा (बैतडी)
बैतडीको शिखरपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय खोलाबाट निकालिएको २८ किलोवाट क्षमताको कठमीगाड लघुजलविद्युत आयोजनाको विद्युतगृह नजिकै रूखमा चढेको बेला शिखरपुर–७ का १४ वर्षीय सुनिल पार्कीको मृत्यु भएको हो ।
रूखमा चढेको बेला विद्युतको तारमा छुन पुग्दा करेन्ट लागि पार्कीको तत्काल मृत्यु भएको मृतकका वुवा बद्री पार्कीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि स्वास्थ्य केन्द्र पाटन ल्याइदै गरेको शङ्करपुर अस्थायी प्रहरी चौकीका इन्चार्ज पिरु बोहराले बताए ।
Source:KantipurNews