|

जोर्डनसँग घरमै खेल्न चौतर्फी माग

अजय फुयाल, काठमाडौँ, असार ३१- 'होम म्याचेज सुड बी प्लेड एट होम' सामाजिक संजाल फेसबुकमा यस्तो समूह बनेको छ। केही दिनमै सयौं सदस्य बनाउन सफल यो समूह नेपाली फुटबलप्रति निकै सचेत र गम्भीर छ।
विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय टोलीले दोस्रो चरणमा जोर्डनविरुद्ध हुने होम एन्ड अवे दुवै खेल विपक्षीको मैदानमा खेल्ने चर्चाले फुटबलप्रेमी युवा जमात यसरी सक्रिय भएको हो। सचेत युवाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दबाब दिन फेसबुकबाट यसैगरी सन्देश दिए, 'होम म्याचेज सुड बी प्लेड एट होम' अर्थात घरेलु खेल घरमै खेलिनुपर्छ।
पहिलो चरणमा इस्ट टिमोरलाई प्रतिद्वन्द्वी पाउँदा दुवै लेग दशरथ रंगशालामै खेलिनु नेपाली टोलीका लागि सकारात्मक पक्ष थियो। टिमोरको फुटबल इतिहास र भौतिक पूर्वाधार गतिलो नभएका कारण दुवै लेग नेपालमा गराउन एन्फा सफल भएको थियो। टिमोरले आर्थिक कारणले पनि दुवै लेग नेपालमा खेल्दा फाइदा हुने जानेर घरेलु खेल पनि अवे मैदानमा खेल्न सहमति जनाएको थियो। उसले घरेलु खेलमा आफ्नै देशमा खेल्न दाबी गरेको भए नेपाल त्यहाँ जानुको विकल्प थिएन। ठिक यसैगरी अहिले दोस्रो चरणमा पनि दुई लेगको खेलमा नेपालले चाहना मात्र राखे जोर्डनले नेपालमा आएर एक खेल खेल्नैपर्छ। तर एन्फाले दुवै लेग जोर्डनमा खेल्ने प्रस्ताव आफै गरेका कारण अहिले नेपाली टोली घरेलु मैदानमा खेल्नबाट वञ्चित हुने अवस्थामा पुगेको छ।
हुन त एन्फा पदाधिकारीहरू यस विषयमा कुनै निर्णय भइनसकेको बताउँछन्। फिफाको वेबसाइटमा पनि जुलाई २८ मा हुने दोस्रो लेग दशरथ रंगशालामा हुने नै लेखिएको छ, तर पहिलो चरण हुनुपूर्व पत्रकार सम्मेलनमा एन्फाले टिमोरलाई पाखा लगाएमा जोर्डनविरुद्ध दुवै लेग उतै खेल्न प्रस्ताव गरेको बताएपछि फुटबलप्रेमीको चासो पलाएको थियो।
एएफसी च्यालेन्ज कप तथा विश्वकप छनोटको पहिलो चरण घरेलु मैदानमा जोशिलो प्रदर्शन गर्दै नेपाली टोलीले पार गरेपछि फुटबल अहिले सार्वजनिक चासोको विषय बनेको छ। घरेलु दर्शकबीच फेरि खेल्न पाए नेपाली खेलाडीले बलियो जोर्डनलाई पनि मात दिने आशा गरिएको छ। 'हामीले त्यही आशामा नेपालको घरेलु खेल घरमै गरौं भनेर आह्वान गरेका हौं,' फेसबुकमार्फत् सक्रिय इलम दीक्षित भन्छन्, 'घरेलु खेल पनि विपक्षीको मैदानमा खेल्नुपरे त्यो नेपाली फुटबलको सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ। टिमोरविरुद्धको दोस्रो लेगमा नेपालले पेनाल्टीमा एउटा भाग्यशाली गोल पाएपछि लगातार गोल वर्षा गर्नुमा दर्शकको साथ नै सबैभन्दा महŒवपूर्ण थियो।'
नेपाललाई च्यालेन्ज कप र विश्वकप छनोटको दोस्रो चरण पुर्‍याएका बेलायती प्रशिक्षक ग्राहम रोबर्टस पनि घरमा खेल्न पाए जोर्डनलाई हराउने दाबी गर्छन्। 'यहाँ खेल्न पाए हामी जोर्डनलाई हराउने छौं। म विश्वका कुनै पनि टोलीसँग डराउन्न। हाम्रो टोलीमा पनि केही विश्वस्तरीय खेलाडी छन्। हामीसँग ठूलो संख्यामा दर्शकको साथ छ, हामीले त्यसको धेरै फाइदा उठाउन सक्छौँ,' ग्राहमले टिमोरविरुद्ध दोस्रो लेग ५-० जितेपछि पत्रकार सम्मेलनमा भनेका थिए।
खासमा फिफाले पनि घरेलु मैदानमा खेल्नु फाइदा हुने भएकाले होम एन्ड अवे पद्धति सुरु गरेको हो। अवे गोललाई घरमा गरेको गोलको तुलनामा महत्व दिएको हो। फिफाले निकालेको तालिकाअनुसार नेपाल र जोर्डनबीचको प्लेअफको पहिलो लेग जुलाई २३ मा जोर्डन तथा दोस्रो लेग २८ मा नेपालमा हुने तय छ। यसमा प्रतिस्पर्धी दुवै टोलीले सहमति जनाएमा एकै ठाउँमा वा तटस्थ मैदानमा पनि खेल गर्न सकिने प्रावधान छ, तर त्यसका लागि दुवै टोलीको साथै फिफाको सहमति अनिवार्य हुन्छ। 'एन्फाले चाहे ग्राहमले नेपालमा खेल्न पाए भन्नुपर्दैन। नेपालमा पाएको सट्टा खेले हामी जित्छौं भन्नुपर्छ। किनकि घरेलु खेल दशरथ रंगशालामा खेल्न पाउनु हाम्रो अधिकार नै हो,' पोल्यान्डमा अध्ययनरत नेपाली फुटबल प्रशंसक अनुज तिवारीले फेसबुक स्ट्याटसमा लेखेका छन्।
नेपाली टोलीले यसपालि घरेलु समर्थकलाई औधी खुसी बनायो। च्यालेन्ज कप छनोटमा भर्खरै विश्वकप खेलेर आएको टोली उत्तर कोरियालाई १-० को नतिजामा रोक्नु तथा टिमोरमाथि गोलको वर्षा गराएर विश्वकप छनोटको इतिहासमा पहिलोपटक दोस्रो चरण पुग्नु नेपाली समर्थक खुसी हुन पर्याप्त थियो। इङ्ल्यान्डको राष्ट्रिय टोलीका साथै चेल्सी र टोटेनह्यामजस्ता ठूला व्यावसायिक क्लबबाट उच्चस्तरीय फुटबल खेलिसकेका प्रशिक्षक ग्राहमको आगमनसँगै जितको लय समाउन लागेको टोलीबाट समर्थकले ठूलो आशा राखेका छन्। टोटेनह्यामका युइएफए कप विजेता कप्तानको नेतृत्वमा नेपालले घरमा एसियाकै महाशक्तिमा गनिने जोर्डनमाथि गतिलो प्रदर्शन गरेको हेर्ने आशा दर्शकले पालेका छन्।

'फुटबल स्तर उठ्न ठूला खेल पनि हुनुपर्छ र त्यो घरमा भए झन् राम्रो। हामीले भुटान र टिमोरलाई हराएका खेल हेर्न ५ सय रुपैयाँ तिरेर पूरा समय झरीमा रुझ्नुपर्छ भने जोर्डनजस्तो बलियो टिमसँग खेलेको पनि हेर्न पाउनुपर्छ। नेपाली दर्शक फुटबललाई धेरै माया गर्छन्, तर यसको मतलब एन्फाले सधंै हामीजस्ता निर्दोषलाई भुटान र टिमोरलाई हराएको खेलमात्र देखाएर रनभुल्लमा पार्नु जायज हुँदैन,' रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुँदाका नियमित दर्शक समिर ढकाल भन्छन्।
एन्फाले भने जारी लिगलाई रोक्न नसकिएको र लिग सकिएपछि मैदान मर्मत गर्न समय अपर्याप्त हुने बहाना गरिरहेको छ। एन्फा उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठ भन्छन्, 'नेपाली समर्थकले राष्ट्रिय टोलीलाई गरेको अपार मायाका कारण हामी पनि नेपालमै खेल गराउने प्रयासमा छौं। लिग रोक्नु क्लबको आर्थिक अवस्थाका कारण सम्भव भएन र त्यसपछि रंगशाला बनाउन समय नहुने भयो। तैपनि हाम्रो प्रयास जारी छ, निर्णय भइसकेको छैन।'

टिमोरविरुद्धको खेलका लागि एन्फाले १० दिन लिग रोकेर मैदान बनाएको थियो। जबकि अहिले ३२ गते सकिने लिगपछि जोर्डनसँग खेल्न १२ दिनको समय भए पनि मैदान बनाउन नभ्याइने एन्फाको तर्क भने ठट्टाभन्दा फरक नहोला। इलम भन्छन्, 'मैदान बनाउन नभ्याइने तर्कमा कुनै दम छैन। फिफाले नेपालको योभन्दा खराब मैदानमा खेल गराएको हामीले पनि देखेका छौं।'

Source:nagariknews

Posted by Butwalonline on 9:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जोर्डनसँग घरमै खेल्न चौतर्फी माग"

Leave a reply