नक्कली नेपाली नोट छ्याप्छयाप्ती
काठमाडौं, अषाढ २६ -
नक्कली नेपाली नोट बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । प्रहरीले
शुक्रबार र शनिबार राजधानीबाट हजार रुपैयाँका एकै नम्बरका नक्कली नोटसहित ३
जनालाई पक्राउ गरेको छ ।
चाबहिलको गोपीकृष्ण हल अघिबाट महानगरीय प्रहरी प्रभाग गौशालाले पासाङ
सोनाम शेर्पालाई एक हजार रुपैयाँ दरको एउटै नम्बर उल्लेख भएका ८ वटासहित
पक्राउ गरेको छ । त्यसलगत्तै उनको बौद्धस्थित डेरामा छापा मार्दा ६ वटा
एउटै नम्बर भएका हजार रुपैयाँका नोट फेला पारेको हो । उनले अरूबाट लिएको
बताएपछि प्रहरीले उनीहरूकै सूचना आधारमा सोलुखुम्बुका मिङमार शेर्पा,
उदयपुर बेलटारका अशोक राईलाई पनि पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग
गौशालाका प्रहरी निरीक्षक अपिल बोहराले बताए । उनका अनुसार पक्राउ परेका
शेर्पाले मिङमार शेर्पा र अशोक राईमार्फत आफूले पाएको बताएपछि प्रहरीले
उनीहरूलाई पनि पक्राउ गरेको छ । ख/३५,७८१४५६ नम्बर लेखिएको एक हजार
रुपैयाँका ५ वटा नक्कली नोट छन् । यस्तै, २१/२९, ४९०५३४ नम्बर उल्लेख भएका
एक हजार दरका ३ वटा नेपाली नोट छन् । प्रहरीले यति धेरै पैसा नक्कली फेला
पर्नुले कतै नक्कली नेपाली नोट संगठित रूपमै बनिन थालेको अनुमान गरेको छ ।
'सूचना संकलन गरेर अनुसन्धान गरिरहेका छौं,' काठमाडौं प्रहरी प्रमुख एसपी
केदार रिजालले भने ।
प्रहरीले यसअघि पनि नेपाली नक्कली नोट बरामद गर्ने गरेको थियो । एक वर्ष
अघि ललितपुरको ठैब ८ बाट प्रहरीले नक्कली नोट बनाउने मेसिनसहित एक भारतीय
नागरिकलाई पक्राउ गरेको थियो । उनको साथबाट २ लाख ९१ हजार नेपाली नक्कली
रुपैयाँ बरामद गरेको थियो । उनले सक्कली पैसालाई कागजमा टाँसेर रंगीन
फोटोकपी मेसिनबाट फोटोकपी गर्दै पैसा बनाउने गरेका थिए । देशका विभिन्न
स्थानमा नक्कली नेपाली नोटको कारोबार भइरहेको देखिएको छ । कञ्चनपुर, चितवन,
कैलाली, धनुषा लगायतका जिल्लामा नक्कली रुपैयाँ भेटिँदै आएको थियो ।
Source:kantipurnews