|

गैंडाको चोरी सिकारमा संलग्न अभियुक्त धामधम पक्राउ

भरतपुर, अषाढ २६ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) सक्रियतापूर्वक लागेपछि दुर्लभ एक सिंगे गैंडाको चोरी सिकारमा संलग्न अभियुक्त धामधम पक्राउ पर्न थालेका छन् ।


सीआइबीको सहयोगमा ५ महिनायता छ जनाभन्दा बढी 'मोस्ट वान्टेड' सूचीका अभियुक्त पक्राउ परेका छन् । ती अभियुक्तले गैंडा मार्न र खाग बिक्री गर्न गिरोह सञ्चालन गर्दै आएका थिए ।

सीआइबीले शुक्रबार 'चरी' भनिने दिनेश अधिकारीलाई खागसहित राजधानीबाट पक्राउ गरेको थियो । चरीसहित ८ जनालाई शुक्रबार साँझ अनुसन्धानका लागि चितवन निकुञ्जको मुख्यालय कसरा ल्याइएको छ । 'अनुसन्धानको क्रम अगाडि बढेको छ,' सहायक संरक्षण अधिकृत गणेश पन्तले भने, 'आठै जनाको बयान लिने काम भइरहेको छ ।' उनले अनुसन्धानपछि उनीहरूको संलग्नताका आधारमा मुद्दा चलाइने बताए ।

'संलग्नता हेरी अभियोग लाउँछौं,' उनले भने, 'सीआइबीका कारण सफलता मिलिरहेको छ ।' उनले विभागले नेतृत्व गरेकाले ठूला अभियुक्त पक्राउ परेको बताए । आपराधिक समूहको नेतृत्व गरेको आरोप लागेका 'चरी' खागसहित पक्राउ परेका हुन् । पछिल्लो टोलीमा माओवादी सेनाको तेस्रो डिभिजनका सेक्सन सह कमान्डर राजेश हमाल फक्राउ परेका छन् ।

निकुञ्जका अनुसार दुई वर्षदेखि पछ्याइएका अभियुक्त काजिमान प्रजा गत फागुन दोस्रो साता सीआइबीकोे सहयोगमा बागलुङबाट पक्राउ परेका थिए । राजधानीबाट पछ्याउँदै कास्की हँुदै वालिङमा समातिएका कामु प्रमुख संरक्षण अधिकृत जगन्नाथ सिंहले बताए । उनी पुरानो मुद्दामा समेत अभियुक्त कायम भइसकेका व्यक्ति

हुन् । कोराक ९ का उनीमाथि निकुञ्जभित्र ९ वटा गैंडा मारेको अभियोग छ ।

सिंहका अनुसार करिब १ दर्जन गैंडा मारेको र खाग बिक्रीको अभियोगमा केही समयअघि रामशरण विकको समूहलाई पक्राउ गरी जेल पठाइएको छ । उनी यस्तै मुद्दामा यसअघि पनि सजाय काटेका अभियुक्त हुन् । जेल मुक्त भएपछि उनले अर्का अभियुक्त पाल्देन लामालाई २४ लाखमा एउटा खाग बिक्री गरेका थिए । पाल्देनले उक्त खाग चीन पुर्‍याएर ३१ लाखमा बिक्री गरेको खुलेको छ ।

यसैबीच 'मोस्ट वान्टेड' ओमनाथ निरौलालाई समेत पक्राउ गरी मुद्दा चलाइएको छ । अर्का अभियुक्त शेर बहादुर खाती पक्राउ परेका छन् । सिंहका अनुसार नक्कली खाग कारोबारी महेश सुवेदी पनि सीआइबीको सहयोगमा समातिएका हुन् । उनका अनुसार सीआइबी सक्रिय बनेपछि चितवन बाहेक धादिङ, मकवानपुर र राजधानीबाट अभियुक्त पक्राउ परिरहेका छन् । एक महिनाअघि धादिङबाट फरारमध्येका २ जना खाग सहित पक्राउ परेका थिए । उनीहरूमाथि धादिङ जिल्ला वनले कारबाही अघि बढाइएको छ ।

सुरक्षा निकाय समेटेर केन्द्रमा वन्यजन्तु अपराध अनुसन्धान ब्युरोसमेत बनेको छ । जिल्लामा त्यसको संयन्त्र बनाउने तयारी भइरहेको छ । पहिलो पटक निकुञ्ज र मध्यवर्ती क्षेत्र बाहिर नेपाल र सशस्त्र प्रहरी, जिल्ला प्रशासन, वन र सेनाले चोरी सिकार नियन्त्रणमा सक्रियता बढाएका छन् । निकुञ्जका अनुसार गत वर्ष वैशाखदेखि जेठसम्म गैंडा मारेको, खाग बिक्री र ओसार पसारमा संलग्न ५९ अभियुक्त पक्राउ परेका छन् । तीमध्ये गत वर्ष असारमा ११ अभियुक्त पक्राउ परे । मंसिरमा ९ र फागुनमा ११ पक्राउ गरिए । भने अझै १ सय ४४ जना फरार छन् ।

पन्तका अनुसार चालु आर्थिक वर्षमा गोली लागेर २ गैंडा मरेका छन् । अघिल्ला २ वर्ष वैशाख र जेठमा धेरै गैंडा मारिएका थिए । यसपालि दुई महिना कुनै अपि्रय घटना नभएको निकुञ्जले जनाएको छ । निकुञ्ज तथ्यांकअनुसार आर्थिक वर्ष २०५७/५८ देखि २०६६/६७ सम्म सिकारीले १ सय ४८ गैंडा मारेका थिए । सबैभन्दा धेरै आर्थिक वर्ष २०५८/५९ मा ३७ गैंडा मारिए । अर्को वर्ष ३२ मारिए ।
Source:kantipurnews

Posted by Butwalonline on 7:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गैंडाको चोरी सिकारमा संलग्न अभियुक्त धामधम पक्राउ"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु