|

लुम्बिनीका "दाता" को कार्यालय नै भेटिएन

हङकङ, श्रावण १४ - लुम्बिनीलाई मुस्लिमको मक्का र क्रिस्चियनको भेटिकनसिटीजस्तै बनाउने परिकल्पना बुनिएको तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्थाको हङकङ कार्यालय भनिएको ठाउँमा लत्ताकपडाका सोरुम भेटियो । उल्लेख गरिएका टेलिफोन नम्बरहरू खोज्दै जाँदा हङकङ प्रहरीको वानचाई मुख्यालयअन्तर्गत लाइसेन्स विभागको भएको पत्ता लाग्यो ।

लुम्बिनीमा तीन अर्ब अमेरिकी डलरको महत्वाकांक्षी परियोजना घोषणा गर्ने चिनियाँ संस्थाको हङकङस्थित कार्यालय भनी तोकिएको ठेगानामा लत्ताकपडाका 'सोरुम' भेटिएको छ । फाउन्डेसनले आफ्नो आधिकारिक बेवसाइटमा जनाएको कार्यालय ठेगानामा पुग्दा शुक्रबार त्यस्तो दृश्य देखिएको हो ।
त्यहाँ महँगा विदेशी ब्रान्डका लत्ताकपडा, कस्मेटिक, घडी, ब्याग, जुत्तालगायत सरसामान सजिएका थिए । कम्पनीको ठेगाना वानचाई १७३/१७४ ग्लुसेस्टर रोडस्थित 'तिन चु कर्मसियल विल्डिङ' को दोस्रो तल्ला उल्लेख छ । तर उक्त ठाउँमा भने 'लङ वाइज इन्कर्पोरेटेड' नामको कम्पनी बोर्ड झुन्ड्याइएको छ । कार्यालयमा भेटिएकी एक महिला कर्मचारीलाई फाउन्डेसनबारे जिज्ञासा राख्दा स्पष्ट जवाफ दिन सकिनन् । कोठाभित्र प्रवेश गरी करिब पँाच मिनेटपछि फर्किएकी उनले लङ वाइज कम्पनीभित्रै फाउन्डेसनको कार्यालय पनि भएको बताइन् । थप कुरा बुझ्ने प्रयासमा भने संस्थासँग सम्बन्धित व्यक्ति बाहिर गएको बताउँदै उनी पन्छिइन् । संस्थाको कार्यालयसँगै रहेको बताइए पनि २२ तल्ले भवनमा कतै पनि दातृ संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन -एपीईसीएफ) को नाम उल्लेख छैन् । सन् १९९१ मा स्थापित कम्पनी लङ वाइजले चीन, हङकङ, मकाउ, ताइवान, सिंगापुर, मलेसियालगायतका मुलुकमा प्रतिष्ठित महँगा ब्रान्डका लत्ताकपडा र अन्य सरसामान निर्यात गर्ने वेबसाइटमा जनाएको छ ।

एपीईसीएफको वेबसाइटमा राखिएको हङकङस्थित कार्यालयको सम्पर्क टेलिफोन नम्बर २८६०३५७२/२८६०३५७३ समेत गलत पाइयो । दुवै नम्बर हङकङ प्रहरीको वानचाई मुख्यालयअन्तर्गत लाइसेन्स विभागका हुन् । वेबसाइटमा उल्लेखित फ्याक्स नम्बर २२००४३२७ समेत प्रहरी अन्तर्गतकै हो । संस्थाले इमेल ठेगाना भने सार्वजनिक गरेको छैन । फाउन्डेसनको वेबसाइटमा मुख्यालय बेइजिङमा रहेको बताइए पनि चिनियाँ सञ्चारमाध्यमले भने मुख्यालय हङकङमै रहेको जनाउँदै आएका छन् । चीनको गोन्झाउ र ताइवानमा समेत सम्पर्क कार्यालय रहेको बताइएको छ ।

अहिलेसम्मकै कीर्तिमानी सहयोग रकम घोषणा गरेको संस्थाको कार्यालय र सम्पर्क नम्बर नै गलत हुनुले यसका कामकारबाही प्रति समेत शंका बढाएको छ । फाउन्डेसनले चीनस्थित राष्ट्रसंघीय औद्याेगिक विकास संगठन -यूएनआईडीओ) सँग लुम्बिनी परियोजनाका लागि दुई पक्षीय सम्झौता गरिसकेको छ । असार ३१ गते बेइजिङमा भएको उक्त सम्झौताअनुरूप यूएनआईडीले संस्थागत सहयोगस्वरूप एक लाख युरो -झन्डै एक करोड रुपैयँा) खर्च गर्नेछ । करिब २ खर्ब २५ अर्ब रुपैयाँको परियोजनामा लुम्बिनीलाई मुस्लिमहरूको मक्का र क्रिस्चिएनहरूको भेटिकनसिटीजस्तै बनाउने परिकल्पना बुनिएको छ । तर नेपालस्थित सम्बन्धित निकायले भने चिनियाँ संस्थाको कामकारबाही र सम्झौताबारे अनभिज्ञता प्रकट गर्दै घोषित परियोजनामाथि नै शंका व्यक्त गरेका छन् ।

अध्यक्ष्ाका नाम हालसम्म सार्वजनिक नगरिएको संस्थामा ४७ वषर्ीय जिआओ उनान कार्यकारी उपाध्यक्ष छन् । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य उनान चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका पश्चिम क्षेत्रीय उपनिर्देशक हुन् । उनान विश्व बौद्ध शान्ति प्रतिष्ठानमा समेत उपाध्यक्ष छन् । फाउन्डेसनमा ९ सहअध्यक्षहरूमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वयुवराज पारस शाहलगायत कोलिन हेसल्टिन, ज्याक रोजेन, कोर्न डबरान्सी, लियोन चार्नी, राम्जी सन्बार, स्टिभन क्लार्क, चियोन हिउ किङ छन् । कोलिन अस्ट्रेलियन कूटनीतिज्ञ र डबरान्सी थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री हुन् । रोजेन, लियोन र क्लार्क अमेरिकी, हिउ किङ मलेसिया र सन्बार बेलायती व्यवसायी हुन् । सार्वजनिक फाउन्डेसनका सदस्यहरूमा उपाध्यक्षबाहेक सबै गैरचिनियाँ छन् ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 9:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनीका "दाता" को कार्यालय नै भेटिएन"

Leave a reply