|

दुई नाबालकबाट बरामद भएको अमेरिकी दूतावासको बन्द खाममा के लेखिएको छ ?

काठमाडौं, श्रावण १५ - अमेरिका जानेक्रममा शंकास्पद रूपमा पक्राउ परेका दुई नाबालकबाट बरामद भएको अमेरिकी दूतावासको बन्द खाममा के लेखिएको छ ? भन्ने विषय कूटनीतिक र सुरक्षासम्बद्ध सबै क्षेत्रमा चर्चाको विषय बनेको छ । बरामद खाम कूटनीतिक नियोगको पत्राचार भएकाले फिर्ता लिन अमेरिकी दूतावासले प्रयास गरिरहेको छ भने प्रहरीले बरामदी मुचुल्कामा उल्लेख भएकाले दिन नमिल्ने अडान लिँदै आएको छ ।


पक्राउ परेका दुवैको नाम उल्लेख गरेर दूतावासले उपलब्ध गराएको पहेंलो खामको बाहिर 'टु बी पि्रजेन्टेड टु द यू.एस इमिग्रेसन अफिसर अपन अराइभल एट अ पोर्ट अफ इन्ट्री इनटु द युनाइटेड स्टेस अफ अमेरिका,' लेखिएको छ ।

'हामीले दूतावासको खामबन्दी पत्र भएकाले खोल्नका लागि साक्षी बस्न आइदिन आग्रह गर्‍यौं, तर उनीहरूले उक्त पत्र दूतावासबाटै उपलब्ध गराइएको स्वीकार्दै यो विषय कूटनीतिक नियोगसम्बन्धी भएकाले जसरी भए पनि फिर्ता दिन माग गरे ।' काठमाडौंका प्रहरी प्रमुख केदार रिजालले भने, अभियुक्तसँग बरामद भएको पत्र दिन नमिल्ने बताएपछि उनीहरूले तत्काल पत्र नखोलिदिन आग्रह गर्दै त्यसबारे औपचारिक रूपमा दूतावासलाई पत्राचार गर्न आग्रह गरेका छन ।'

पत्र नखोली फिर्ता लैजानका लागि दूतावासका एक काउन्सिलर शुक्रबार काठमाडौं परिसर पुगेका थिए । तर काउन्सिलरको आग्रहलाई प्रहरीले अस्वीकार गरी फिर्ता पठाइदिएको थियो । 'हामी आइतबार दूतावासलाई औपचारिक रूपमा पत्र लेख्छौं, पत्र खोल्नका लागि प्रतिनिधि पठाए उनीहरूको रोहबरमा खोल्छौं, नपठाए चार जनाको साक्षी राखेर पत्र खोल्छौं र अदालतमा प्रमाणका लागि पठाउँछौं,' रिजालले भने ।

स्रोतअनुसार तिब्बतीयन शरणार्थीको परिचयपत्रसमेत बोकेका दुई नेपाली राहदानी बाहकको साथबाट बरामद खामबारे चिनियाँ दूतावासले बढी चासो राखेको छ । यो घटना सार्वजनिक भएपछि नक्कली ट्राभल डकुमेन्ट र नक्कली कागजपत्रकै आधारमा बनेका सक्कली राहदानीमार्फत अनगिन्ती तिब्बतीयन शरणार्थी नेपालबाट युरोप र अमेरिका जाने गरेका खुल्न आएको छ । तिब्बतीयन शरणार्थीहरूलाई अमेरिका लगायतका देश पठाउने कार्यमा कूटनीतिक नियोगकै इसारासमेत रहने गरेको सुइँको प्रहरीले पाएको छ ।

नेपाली राहदानी लिएर गत मंगलबार राति अमेरिका उड्न लागेका दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका सुरक्षाकर्मीले पक्राउ गरेको थियो । मिलोमतो गरी विदेश उडाउने धन्धामा परराष्ट्र मन्त्रालय र अध्यागमनका अधिकारीहरूको समेत संलग्नता भेटिएको छ ।

पक्राउ पर्नेहरू १५ वर्षका जयान तेन्जिङ र १२ वर्षकी छिरिङ लामा छन् । उनीहरू दुवैलाई प्रहरीले साढे ११ बजे राति अध्यागमन पार गरेपछि जहाज चढ्ने क्रममा पक्राउ गरेको थियो । प्रहरीले बरामद सबै कागजपत्रसहित पक्राउ परेका दुई जनाका विषयमा थप अनुसन्धान गर्न काठमाडौं परिसरमा पठाएको छ ।

Source:kantipurnews

Posted by Butwalonline on 8:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुई नाबालकबाट बरामद भएको अमेरिकी दूतावासको बन्द खाममा के लेखिएको छ ?"

Leave a reply