नाइटोमा मुन्द्री
मुम्बई, अषाढ २६ - जोन अब्राहमसँगको लामो समयदेखिको प्रेम सम्बन्ध बिग्रेको बजारी हल्लाले पछिल्लो समय मनोरञ्जनको दुनियाँमा छाएकी सुन्दरी विपाशा बसु यस पटक पुनः चर्चामा छिन् । तर यो पालि उनले जोनसँग जोडिएर नभई नाइटो छेडेर आफूतिर चासो तानेकी हुन् ।आकर्षक शरीरका कारण प्रशंसा पाइरहने 'नो इन्ट्री' गर्ल विपाशाले आफ्नो शरीरमा थपिएको ग्ल्यामरको सूचना टि्वटरमार्फत दिएकी छन् । उनले टि्वटेकी छन्, '१६ वर्षकी हुँदादेखिको नाइटो छेड्ने चाहना अहिले आएर बल्ल साकार भएको छ ।' ३२ वषर्ीया अभिनेत्रीले नाइटो छेड्दा सुन्दर देखिएको भए पनि असर छोड्न ढिला गरेको उल्लेख गर्दै लेखेकी छन्, 'अबका १५ दिन राम्रोसँग काम गर्न सक्दिनँ होला । तर प्रत्येकले आफ्नो चिन्तालाई जित्नै पर्छ ।' जो यी सबै आँखा अगाडि देखेपछि डराउँछ, त्यस्ताले कहिल्यै छेडाउन नसक्ने पनि उनले टि्वटेकी छन् ।
विपाशाको 'क्रान्तिकारी' कदमलाई उनकै टि्वटर पोस्टमार्फत थाहा पाएलगत्तै प्रत्युत्तरमा अर्की अभिनेत्री दिया मिर्जाले खुसी साट्न टि्वटेकी छन्, 'हो र, दर्शकले तिमीसँग आफूलाई थप हट बनाउन कुनै उपाय नै नभएको ठानिरहेका बेला तिमीले त्यस्ता सिद्धान्तलाई तोडिदिएकी छयौ ।'
नाइटो छेडेको घटनालाई विपाशाले अक्षरमार्फत सार्वजनिक त गरेकी छन् । तर कुनै सार्वजनिक कार्यक्रममा देखिई नसकेकी उनले छेडेपछिको फोटो पनि सार्वजनिक गरेकी छैनन् । अब उनको नाइटो छेदन हेर्न फ्यानले उनको नयाँ फिल्म नै कुर्नुपर्ने हुन्छ या फोटो सुट नै हेर्नुपर्ने हुन्छ । पछिल्लो समय टाटु खोपेर ग्ल्यामर देखिने प्रवृत्ति बढिरहेका बेला विपाशाको नाइटो छेड्ने कदमको भविष्यमा अरू अभिनेत्रीले पछ्याउलान् कि नपछ्याउलान् ?
Source:Kantipurnews