|

ठगी गर्ने म्यानपावरमाथि कारबाहीको तयारी

काठमाडौं/कतार, अषाढ १९ - संस्थागत रूपमा ठगी गर्ने वैदेशिक रोजगार व्यवसायी -म्यानपावर कम्पनी) लाई श्रम मन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि उसले आन्तरिक रूपमा गृहकार्य थालेको छ ।       
श्रममन्त्री मोहमद इस्तियाक राईका अनुसार संस्थागत रूपमा ठगी गर्ने त्यस्ता व्यवसायीहरू कानुनी कारबाहीमा नपरेकाले छानबिन समिति बनाएर कारबाही गर्ने तयारीमा सरकार लागेको छ । 'दूतावासहरूबाट श्रम र परराष्ट्र मन्त्रालयमा ठगी गर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न भनेर सिफारिस पठाइरहेको हुन्छ । यहीँ पनि उजुरी आउँछ,' उनले भने, 'तर उनीहरू यसबाट उम्किँदै आइरहेको स्थिति छ ।'
उनका अनुसार सरकार कारबाही गर्नुपर्ने म्यानपावरको सूची बनाएर अघि बढ्दै छ । त्यसका लागि मन्त्रालयले नेपालीका लागि मुख्य गन्तव्य मानिएका मुलुकहरूमा रहेका दूतावासहरूलाई कारबाही गर्नुपर्ने म्यानपावरको सूची पठाउन अनुरोध गरेको छ । 
श्रम मन्त्रालयले नेपाली कामदारको मुख्य गन्तव्य कतार, साउदी, कुबेत, संयुक्त राष्ट्र इमिरेट्स, मलेसिया, इजरायल लगायतमा रहेका दूतावासहरूसँग त्यस्तो व्यवसायीको सूची मागेको हो । 'सोमबारसम्ममा सबै दूतावासबाट सूची आइसक्नेछ,' उनले भने, 'त्यसपछि यसको छानबिन गर्न ३ सदस्यीय समिति बनाउनेछु ।'
कतारस्थित नेपाली दूतावासले कारबाही गर्नुपर्ने ४७ म्यानपावरको सूची पठाएको छ । मन्त्री राईले उजुरी परेका सयभन्दा बढी कम्पनीको सूची आफूसँगै रहेको जनाए । 'कुनकुन म्यानपावरलाई के कारणले कारबाहीका लागि सिफारिस गरिएको हो ? तिनीहरूलाई किन कारबाही भएन भनेर विभागसँगसमेत सोधपुछ हुनेछ,' उनले भने, 'सबैको निष्पक्ष छानबिन हुन्छ । समितिले बुझाएको सुझावको आधारमा ऐन बमोजिम कानुनी कारबाही गर्नेछु ।'  मन्त्री राईले हालै विभागका महानिर्देशक, दुई निर्देशक र अधिकृतहरू परिवर्तन गरेका छन् ।
विभागका अनुसार चालू मसान्तसम्म संस्थागततर्फ चार सय एक उजुरी दर्ता भएकामध्ये दुई सय ७६ वटा मात्रै फरफारक भएका छन् । कतार दूतावासले श्रम मन्त्रालयबाटै पुरस्कृत एसओएस, रिभर, रिभाइभ, यती, डाइना, गल्फ म्यानेजमेन्ट, कन्टिनेन्टल, रेडरोड, पायनियरसहित ४७ म्यानपावरलाई कारबाहीका लागि पठाएको छ ।
दूतावासले २०२२ मा विश्वकपको आयोजक राष्ट्र बनेको मध्यपूर्वको कतारमा नेपाली कामदारहरूको बढ्दो मागसँगै दलाल र म्यानपावर एजेन्सीले ठग्ने क्रम बढेकोप्रति सरकारलाई ध्यानाकर्षण गरेको जनाएको छ ।  'ठगीमा पर्ने प्रायः सबैको समस्या भिसा एउटा कम्पनीको रोजगार सम्झौता अर्कोको हुने र भने अनुसार सुविधा नपाउने हो,' श्रम सहचारी ध्रुवप्रसाद कोइरालाले कान्तिपुरलाई भने, 'हामीले पहिले त समाधानको पहल गर्छौं, नभए कारबाहीका लागि सिफारिस गर्छौं ।'
दूतावासले समयसमयमा म्यानपावर कम्पनीलाई कारबाही गर्न श्रम, परराष्ट्र मन्त्रालयलाई सिफारिस पठाउँदै आए पनि विभागबाट कारबाही हुने गरेको छैन । यो नहुँदा दुईबीच तिक्ततापूर्ण सम्बन्ध छ । 'दुई मन्त्रालयबीच समन्वय शून्य छैन,' खाडीस्थित एक राजदूतले तितो अनभुव पोखे, 'हामी निरन्तर कारबाहीका लागि पत्र पठाउँछौं । उताबाट कुनै जवाफ आउँदैन ।'

Source:kantipurnews

Posted by Butwalonline on 9:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

2 comments for "ठगी गर्ने म्यानपावरमाथि कारबाहीको तयारी"

  1. देश र जनतालाई कुनै पनि बहानामा ठग्ने ठगहरु कानुनी दायराबाट उम्कनु हुन्न ।यी ठगी गर्ने म्यानपावरलाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ र अब आइन्दा ती व्यक्तिहरु सम्मिलित कुनै पनि म्यानपावरलाई खारेज गर्नुपर्छ ।गरीव नेपालीलाई ठगेर खानेहरुलाई सार्वजनिक गर्नुपर्छ र समाजबाट वहिष्कार गर्नुपर्छ ।यो सरकारको राम्रो कदम हो ।नमन गरें । - अनुज श्रेष्ठ ' प्रवास 'anoozprawash@gmail.com

  2. प्रवासजी,हजुरले एकदम ठिक कुरागर्नु भो यस्ता अपराधिहरुलाई कडा भन्दा कडा सजाय हुनुपर्छ।

Leave a reply