|

युथ फोर्सले दमकमा 'नागरिक' र 'रिपब्लिका' जलाए

दमक, जेठ २८ (नागरिक)- प्रधानमन्त्रीको दल एमालेको भ्रातृ संगठन युथ फोर्सका कार्यकर्ताले आज बिहान झापाको दमकमा 'नागरिक' र 'रिपब्लिका' दैनिक जलाएका छन्।  उनीहरुले बिहान पौने ६ बजे दमकको श्रेष्ठ बुक सेन्टर र कृष्ण पत्रपत्रिका पसलका एकसय ६५ थान नागरिक र १० थान रिपब्लिका खोसी मूल सडकमा जलाए।
त्यसअघि एकाबिहानै नागरिक किन्ने ग्राहकको रुपमा पत्रिका पसल पुगेका युथफोर्सका कार्यकर्ताले दुबै पत्रिका पसलबाट पत्रिका लुटेर फर्किएका थिए।
बिराटनगरस्थित नागरिककर्मी खिलानाथ ढकालमाथि युथफोर्सका कार्यकर्ताले गरेको कुटपिटको चौतर्फी विरोध भइरहँदा झापामा युथ फोर्सका कार्यकर्ताले पत्रिका जलाएका हुन्।
यसअघि युवासंघ अध्यक्ष महेश बस्नेतले 'नागरिक'विरुद्ध प्रतिकार गर्ने चेतावनी सार्वजनिक रुप मै दिएका थिए।

यसैबीच नेपाल पत्रकार महासंघ नागरिक रिपब्लिका शाखाले पत्रिका जलाएको घटनाको भर्त्सना गरेको छ।
महासंघको झापा शाखाले अखबार डढाइएको घटनालाई युथफोर्सले एउटा अपराध लुकाउन अरु अपराधको खेती गरेको भन्दै कडा आपत्ति प्रकट गरेको छ।

महासंघ झापा शाखाका अध्यक्ष गणेश पोखरेलले नागरिकविरुद्ध युथ फोर्सको योजनाबद्ध हर्कत नेपाली प्रेस स्वतन्त्रताको लागि नयाँ चुनौती भएको टिप्पणी गरेका छन्। अखबार जलाइएको यो घटनाको प्रेस चौतारी झापा शाखा लगायत प्रेस सम्बद्ध संघ संस्थाले निन्दा गरेका छन्।
प्रहरीले पत्रिका आगजनी गर्ने समूहको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय दमका प्रहरी निरीक्षक नबीन कार्कीले बताए। ढकाललाई आइतबार राति मार्ने योजना अनुसार युथ फोर्सका कार्यकर्ताले आक्रमण गरेपछि मुख्य नाइके बस्नेत र सहयोगी मनोज राई फरार छन्। आक्रमणमा संलग्न युथ फोर्स बिराटनगरका अध्यक्ष रोहित कोइरालालाई भने प्रहरीले पक्राउ गरिसकेको छ। तीनै जनाविरुद्ध नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलाले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन्।

Source:Nagariknews

Posted by Butwalonline on 8:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युथ फोर्सले दमकमा 'नागरिक' र 'रिपब्लिका' जलाए"

Leave a reply