|

क-कसले गरेनन् गाडी फिर्ता ?

काठमाडौं, जेष्ठ ७ - चार पूर्वगृहमन्त्री र एक पूर्वसांसदले सरकारको आग्रह बेवास्ता गर्दै गाडी फिर्ता गरेका छैनन् । गृह मन्त्रालयका अधिकारीका अनुसार अझै गाडी फिर्ता नगर्ने पूर्वगृहमन्त्रीमा एमालेका नेताद्वय केपी ओली र भीम रावल, कांग्रेस नेताहरू खुमबहादुर खड्का र पूर्णबहादुर खड्का तथा पूर्वसांसद अमरेशकुमार सिंह छन् । उनीहरूलाई गाडी फिर्ता गर्न गृहले दोस्रोपटक ताकेता गर्ने तयारी गरेको छ ।
सार्वजनिक लेखा समितिको निर्देशनअनुसार सरकारले दुई साताअघि गरेको आग्रहबमोजिम पूर्वगृहमन्त्रीद्वय कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले नेता वामदेव गौतमले भने गाडी सुविधा फिर्ता गरिसकेका छन् । सरकारले ती पूर्वगृहमन्त्री र पूर्वसांसदलाई प्रतिमहिना २/२ सय लिटर पेट्रोल र मर्मत खर्चसमेत दिँदै आएको छ ।
गाडी सुविधा पाउने हैसियत नभए पनि पूर्वसांसद सिंहलाई तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाका पालामा सरकारबाट निर्णय गराई गाडी र सुरक्षाकर्मी दिइएको थियो । उनको गाडी चालकसमेत प्रहरी जवान नै छन् ।
गृहले पदबाट बाहिरिएको तीन वर्ष बढी भएका पूर्वगृहमन्त्रीहरू पौडेल, ओली, खुमबहादुर र पूर्णबहादुरलाई पत्रमार्फत गाडी फिर्ता गर्न आग्रह गरेको थियो । पूर्वगृहमन्त्रीहरूलाई पदबाट बाहिरिएको तीन वर्षसम्ममात्र गाडी सुविधा दिने व्यवस्था छ ।
गृहले पदमा बहाल हुँदा चढेको गाडी बहिर्गमन हुँदा लान नमिल्ने सार्वजनिक लेखा समितिको निर्णय रहेको उल्लेख गर्दै गौतम र रावलसित गाडी सुविधा फिर्ता गर्न आग्रह गरेको हो । गृहको आग्रहबमोजिम गौतमले फिर्ता गरे पनि रावलले भने फिर्ता गरेका छैनन् । गृहमन्त्री र सांसद भइसकेको व्यक्तिले सरकारको आदेशलाई अटेर गरी गाडी फिर्ता नगर्नु कानुनी शासनको उल्लंघन भएको टिप्पणी सरकारी अधिकारीको छ ।

KantipurNews

Posted by Butwalonline on 9:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क-कसले गरेनन् गाडी फिर्ता ?"

Leave a reply