तीन महिना म्याद थप अर्को तीन महिनाको तयारी : दाहाल
काठमाडौँ, जेठ १५- एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको मस्यौदा तीन महिनाभित्रै ल्याउन धेरै मिहेनत गरिएको बताउँदै अहिले थपिएको तीन महिनाको अवधि चाहिँ अर्को तीन महिनाको तयारी भएको बताएका छन्। धेरै मेहनत र कसरतपछि तीन महिनामा संविधानको मस्यौदा पनि ल्याउने र शान्ति प्रक्रियाको मूलभूत कामहरु पूरा गर्ने प्रतिवद्धता पाँच बुँदे सहमतिमा आएको अध्यक्ष दाहालले बताए।
"राष्ट्रिय सहमतिको सरकारको निम्ति प्रधानमन्त्रीले राजिनामा दिने भनिएको छ, सहमतिको वातावरण बनेपछि प्रधानमन्त्रीको राजिनामा भइहाल्छ," प्रधानमन्त्रीको राजिनामाको प्रसङ्गमा अध्यक्ष दाहालले भने।
एनेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले प्रमुख तीन दलबीच संविधानसभाको म्याद तीन महिना थप्ने गरी भएको पाँच बुँदे सहमति लोकतान्त्रिक उपलब्धिलाई अघि बढाउने आधार भएको बताए।
मधेसी जनअधिकार (फोरम) लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ठूला तीन दलले शान्ति, संविधान र राष्ट्रिय सहमतिका लागि प्रतिबद्धता जनाएकाले शान्ति प्रक्रिया र संविधान लेखनको काम तोकिएको तीन महिनभित्र पूरा हुने विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्री खनाल आफैँले हस्ताक्षर गरेका कारण उहाँले प्रधानमन्त्री पदबाट राजिनामा पनि दिने विश्वास व्यक्त गरे। रासस
NagarikNews
