|

भुवन केसीकी नयाँ "साथी"


म र सुस्मिताबीच केही छैन, हाम्रो वास्तवमै सम्बन्ध-विच्छेद भैसकेको छ भन्ने कुरा सार्वजनिक गर्नैका लागि आफ्नी गर्लफ्रेन्डलाई सञ्चारमाध्यममार्फत नै सार्वजनिक गरेको हुँ।
उमेर अझै ढल्किएको छैन, राम्रा युवतीहरूले पछ्याइरहेकै छन्, त्यसकारण यो वर्ष भुवन केसीले फेरि विवाह गर्‍यो भने अचम्म नमान्न आग्रह गर्छु।'

गत शुक्रबारको साप्ताहिकमा प्रकाशित 'नयाँ वर्ष नयाँ संकल्प' मा सदाबहार नायक भुवन केसीले गरेका १० वटा संकल्पमध्ये यो पनि एक हो। संजोग कस्तो रह्यो भने, त्यही शुक्रवार साँझ नै नायिका रेजिना उप्रेतीले निर्माण गर्न लागेको चलचित्र 'वरदान' को शुभमुहूर्त समारोहमा भुवनको हात समाउँदै एउटी सुन्दर महिला हलभित्र प्रवेश गरिन्। भेट भएका अधिकांश चलचित्रकर्मीलाई ती महिलासँग परिचय गराउँदै भुवनले सार्वजनिक रूपमै भने, 'यी मेरी गर्लफ्रेन्ड हुन्।' त्यसो त भुवन र ती महिला कार्यक्रमस्थलमा प्रवेश गरेलगत्तै यो जोडीमाथि प्रायः सबैको नजर परेको थियो। हातमा हात राखेर कार्यक्रमस्थलमा प्रवेश गरेपछि सञ्चारकर्मी मात्र होइन चलचित्रकर्मीहरू पनि दंग परे। भुवनले आफ्नी दोस्री श्रीमती सुस्मितासँग सम्बन्धविच्छेद भएपछि पहिलो पटक यसरी कुनै महिलालाई आफ्नी गर्लफ्रेन्डका रूपमा चिनाएका हुन्।

त्यसअघि सुन्धारास्थित काठमाडौं मलको पहिलो तल्लामा लिफ्ट चढ्ने क्रममा भुवनले साप्ताहिक संवाददातालाई ती महिलासँग परिचय गराउँदै 'उनी मेरी गर्लफ्रेन्ड' भन्न भ्याइसकेका थिए। 'सार्वजनिक नै गर्न लाग्नुभएको हो ?' भन्ने जिज्ञासामा लिफ्टभित्र प्रवेश गरेपछि भुवनले भनेका थिए— 'आज त्यही भएर उनलाई यो कार्यक्रममा ल्याएको। उनी मेरी गर्लफ्रेन्ड हुन् भन्ने कुरा सार्वजनिक गर्ने योभन्दा राम्रो अवसर अरू कुन हुन सक्छ र ?'

रेजिना उप्रेती निर्मात्री बनेको घोषणा हुने उक्त कार्यक्रममा चलचित्र उद्योगका अधिकांश कलाकार त थिए नै, सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति थियो। कालो रंगको सुटमा ठाँटिएका भुवनको हातमा हात राख्दै कार्यक्रमस्थलमा प्रवेश गर्ने भुवनकी महिलामित्र 'शर्मिला' भने पिंक कलरको सारीमा सजिएकी थिइन्। कार्यक्रमस्थलको अग्रपंक्तिमा भुवन र शर्मिला सँगै बसे। सँगै बसेलगत्तै फोटो पत्रकारहरूले उनीहरूलाई क्यामेरामा कैद गर्न थाले। टेलिभिजनका पत्रकारले त अन्तर्वार्ता नै लिन भ्याए। करिब २० मिनेटपछि कार्यक्रम प्रारम्भ भयो। उद्घोषक बनेका निर्देशक सोभित बस्नेतले भुवनलाई स्टेजमा निम्त्याए। शर्मिला एक्लै भएपछि केही नर्भस देखिइन्। शर्मिलाले लगातार हेरिरहँदा स्टेजमा बसेका भुवन पनि केही लजाएको स्पष्ट देखिन्थ्यो।

शुभमुहूर्त कार्यक्रम सम्पन्न भएपछि पनि भुवन र शर्मिलालाई सञ्चारकर्मी तथा अन्य कलाकारले घेरिरहे। कार्यक्रममा रेजिना उप्रेती तथा निर्देशक सोभित बस्नेत छाउनुपर्नेमा भुवन र शर्मिला छाइरहे। राजेश हमाल, शिव श्रेष्ठ, करिश्मा मानन्धर, रेखा थापा, धीरेन शाक्य आदिले पनि भुवन र उनकी नयाँ महिला मित्रप्रति रुचि देखाए।



वास्तविकता के हो ?

भुवन केसीसँग साप्ताहिकले उनकी महिला मित्रका बारेमा ज्ञिजासा राख्दा भुवनले उनलाई 'भावनात्मक तथा आत्मिय साथी' भन्न रुचाए। ' मेरी दोस्री श्रीमती सुस्मितासँग सम्बन्ध-विच्छेद भएको सात वर्ष भयो, भुवनले विगत खोतल्दै थपे- 'यो अवधिमा कतिपय मान्छेले हाम्रो सम्बन्ध विच्छेद भएको कुरै पत्याएनन्। हामीले ढाँटेको, नयाँ फिल्मको पब्लिसिटीका लागि अनावश्यक हल्ला चलाएको आरोपसमेत लगाए। वास्तविकता के थियो भने हामीले सात वर्षअघि नै सम्बन्धविच्छेद गरिसकेका थियौं। भुवन र सुस्मिताको पहिलो पटक सात वर्षअघि सम्बन्धविच्छेद हुँदा उनीहरूका छोरा अनमोलको उमेर आठ-नौ वर्ष थियो। 'छोराकै कारण हामीले सम्झौता गरेर पुनः सँगै बस्ने निर्णय गरेका थियौं, भुवनले स्पष्ट पारे— 'अहिले त अनमोल पनि १७ वर्षको भैसकको छ, उ सबै कुरा बुझ्ने भैसक्यो। अब मैले तेस्रो विवाह गरें भने पनि उसले खासै आपत्ति जनाउनेछैन।' त्यसबेला छोरा-छोरीको स्कुलको अभिभावक दिवसलगायतका कार्यक्रममा हाम्रो भेट नभएको होइन। सुस्मिता र मेरो भेट हुँदा हामी जहिले पनि औपचारिकता मात्र निर्वाह गर्थ्यौं। अहिले आएर मेरो नयाँ फिल्म 'साथी म तिम्रो' प्रदर्शनको तयारीमा छ। सुस्मितासँगको सम्बन्ध-विच्छेदलाई मैले पुनः भजाउँछु भन्ने आरोप लाग्न थालिसकेको छ। त्यसैले म र सुस्मिताबीच केही छैन, हाम्रो वास्तवमै सम्बन्ध-विच्छेद भैसकेको छ भन्ने कुरा सार्वजनिक गर्नैका लागि आफ्नी गर्लफ्रेन्डलाई सञ्चारमाध्यममार्फत नै सार्वजनिक गरेको हुँ।

तेस्रो विवाह कहिले गर्ने ?

यो प्रश्नमा भने भुवन केही तर्किए। 'हामीले विवाहका बारेमा अहिलेसम्म केही सोचेका छैनौं, भुवन भन्छन्- 'उनको पनि परिवार छ। परिवारमा अभिभावकहरू छन्। विवाहका बारेमा हामीले कुराकानी गरेका छैनौं। हामीबीच विवाह हुन पनि सक्छ, नहुन पनि सक्छ।' 'भावनात्मक र आत्मीय साथीसँग विवाह गर्न हतारिहाल्नुपर्छ जस्तो लाग्दैन, भुवनको तर्क छ- 'विवाह नै सम्बन्धको अन्तिम बिन्दु होइन, विवाह नगरे पनि एउटा पुरुष र अर्की महिलाबीच राम्रो मित्रता कायम हुन सक्छ।'

के गर्दैछिन् सुस्मिता ?

भुवनकी दोस्री श्रीमती सुस्मिताले भने भुवनसँग सम्बन्धविच्छेद गरेपछि आगामी दिनमा भुवनसँग कदापि सँगै नबस्ने घोषणा गरिसकेकी छिन्। सुस्मिता अहिले महाराजगन्ज क्षेत्रमा एउटा फ्ल्याट भाडामा लिएर बसेकी छिन्। उनले दार्जिलिङमा रहेका आफ्ना आमाबाबुलाई पनि काठमाडौं झिकाएकी छिन्। राम्रो प्रतिभा भएकी कलाकारका रूपमा चिनिएकी सुस्मिता अब आफैं चलचित्र निर्माण तथा निर्देशन गर्ने यो जनामा रहेको बताइन्छ।

भुवनको वैवाहिक विगत

यसबीच नायक भुवन केसीले आफ्नो वैवाहिक जीवन असफल भएको कुरा स्वीकार गरेका छन्। भुवन भन्छन्— 'मैले दुईवटा विवाह गरेँ, एउटा लभ र अर्को एरेञ्ज। दुर्भाग्य भनौं अथवा के भनौं दुवै विवाह सफल भएनन्। यद्यपि भुवनले आफ्ना श्रीमतीहरूसँग सहकर्मीका रूपमा राम्रो सम्बन्ध रहेको बताएका छन्। भुवन भन्छन्— 'त्यही आधारमा कहिलेकाहीँ सँगै काम पनि गरिन्छ।' श्रीमतीहरूसँग अलग भए पनि छोराछोरीहरू भने भुवनसँगै छन्। भुवनकी जेठी श्रीमतीबाट छोरी काजल तथा छोरा विवेक दुईजना तथा कान्छी श्रीमतीबाट छोरा अनमोल गरी तीन सन्तान छन्। भुवन र सुस्मिताको वैवाहिक जीवन करिब १० वर्ष टिकेको थियो।



को हुन् शर्मिला ?

भुवन भन्छन्— उनी बिजनेस वुमन हुन् । भुवनका अनुसार भुवन र उनको भेट भएको केही महिनामात्र भयो। यो अवधिमा शर्मिलालाई उनले सुख-दुःख साटासाट गर्ने एउटा असल व्यक्तिका रूपमा पाए। 'हामीबीच यति गहिरो सम्बन्ध छ कि,' भुवनले भावुक हुँदै भने- 'हामी एक- अर्काको सुख-दुःख साटासाट गरेर रमाउँछौं।' त्यसो त भुवनले शर्मिलालाई आफ्नो राम्रो सल्लाकारसमेत बताए। 'उनले अहिले मलाई हरेक कुरामा सल्लाह दिइरहेकी छिन्,' भुवनका अनुसार कुनै पनि ठूलो निर्णय गर्नुपर्दा उनी शर्मिलासँगै सोध्छन्। शर्मिलाको सहमतिमा गरिएको कुनै पनि कार्यमा भुवन असफल भएका छैनन्। शर्मिलाको प्रशंसा गर्दै भुवन भन्छन्— 'उनी मलाई धेरै माया गर्छिन्। मेरो यति धेरै ख्याल राख्छिन् कि म त्यसको गुन तिरेर पनि सक्दिनँ।' पाटननिवासी शर्मिलाको थर डंगोल हो। शर्मिलालाई धेरैले सुपरिचित बुटिक व्यवसायीका रूपमा चिन्छन्। कुपन्डोलस्थित उनको बुटिक राजधानीका उत्कृष्ट र बहुचर्चित बुटिकमध्ये एक हो।

चार महिनाअघि एउटा साप्ताहिक पत्रिकामा प्रकाशित भुवन केसीको वैवाहिक जीवनमा केन्दि्रत एउटा संक्षिप्त अन्तर्वार्ता जस्ताको तस्तैः

सुस्मिता केसीको के छ खबर ?

को सुस्मिता ?

तपाईंकी श्रीमती, अरू को हुनु नि ?

पहिले उनी मेरी श्रीमती थिइन्, अहिले रहिनन्।

तपाईंको चलचित्र 'साथी म तिम्रो' प्रदर्शन हुँदैछ। त्यही चलचित्रको चर्चाका लागि यस्तो गर्नुभएको हल्ला छ नि ?

कुनै समय त्यस्तो पनि गरियो होला। तर, अहिलेको सम्बन्धविच्छेद कुनै स्टन्टका लागि होइन, वास्तविक हो। म यो स्पष्ट पार्न चाहन्छु।

अहिले सुस्मिताजी कहाँ हुनुहुन्छ त ?

नजाने गाउँको बाटो किन सोध्ने ?

तपाईंहरूका छोरा अनमोल केसी नि ?

छोरो त मैसँग छ नि।

किन भयो नि सम्बन्धविच्छेद ?

मलाई उसको केही व्यवहार निकै घृणित लाग्यो।

तपाईं पनि त ठीक हुनुहुन्न भन्छन् नि ?

यी त सब भन्ने कुरा न हुन्।


सुस्मिता र भुवनको यो झगडाले तपाईंको नयाँ चलचित्र 'साथी म तिम्रो'लाई असर पर्दैन ?

केही असर पर्दैन। सुस्मितालाई हिरोइन भनेर मैले चिनाएको र ल्याएको हुँ। उसले भुवन केसीलाई चिनाएकी होइन।

तपाईं आज जहाँ हुनुहुन्छ त्यसमा सुस्मिताको ठूलो हात छ भन्छन् नि ?

यो गलत मूल्यांकन हो। सुस्मिता मेरो जीवनमा आउनुअघि पनि भुवन नेपाली चलचित्रमा जमेर नै बसेको हिरो हो। बरु उसलाई मैले सडकबाट महलमा पुर्‍याएको हुँ।

तपाईं पनि त केटीको मामिलामा छुपेरुस्तम हुनुहुन्छ नि, होइन र ?

अहिले त्यतातिर नजाऔँ।

भनेपछि अहिले तपाईं एक्लै हुनुहुन्छ। कस्तो चलिरहेको छ त एक्लो जीवन ?

सधैं तनावयुक्त साथ पाउनुभन्दा स्वतन्त्र भएर एक्लै जीवन जिउनु राम्रो हुँदो रहेछ।

साभारः घटना र विचार



भविष्यमा जे पनि हुन सक्छ

शर्मिला डंगोल व्यावसायिक महिला हुन्। उनी केही वर्षदेखि बुटिक व्यवसायमा संलग्न छिन्। चलचित्रका सदाबहार नायक भुवन केसीसँग उनको परिचय धेरै लामो होइन। 'आत्मीयता बढ्न धेरै समय र लामो चिनाजानी नै चाहिँदैन, एकै पटकको भेटमा पनि आत्मीयता प्रगाढ हुनसक्छ' भन्ने शर्मिलासँग सुव्रत आचार्यको कुराकानीः

भुवन केसीसँग कहिले र कसरी चिनाजानी भयो ?

डेढ महिनाअघि एउटा पार्टीमा भेट भयो। उहाँको व्यावहारिक शैली राम्रो लाग्यो। केही दिनपछि हामी असल मित्र बन्यौं।

कस्तो खाले मित्रता छ तपाईंहरूबीच ?

आत्मीय मित्रता हो। एक-अर्काको सुखमा मात्र होइन, दुःखमा पनि साथ दिने किसिमको। हाम्रो मित्रतामा कुनै स्वार्थ छैन।

तर, भुवन केसीले सार्वजनिक समारोहमा त्यो पनि मिडियाहरूसँग तपाईंलाई आफ्नी गर्लफ्रेन्ड भनेर परिचय गराए नि ?

गर्लफ्रेन्डको सोझो अर्थ केटी साथी भन्ने बुझिन्छ, होइन र ? उहाँ पुरुष, म महिला, यदि उहाँले कसैसँग अंग्रेजीमा चिनाजानी गराउँदा सी इज माइ गर्लफ्रेन्ड भन्दा के नै फरक भयो त ? त्यो समारोहमा त्यस्तै भयो। त्यसलाई सोझो अर्थमै बुझ्नुपथ्र्यो। मलाई उक्त समारोहमा लाने उहाँको इच्छा थिएन, मैले नै जान्छु भनेपछि मानिसहरूले अन्यथा सोच्छन् भनेर मलाई सजक गराउन खोज्नुभएको पनि हो।

यद्यपि भुवन केसीलाई स्क्यान्डलमा धेरै मुछिने मानिस भनेर चिनिन्छ नि ? त्यस्ता मानिस कसरी असल मित्र हुन सक्छन् ?

उहाँलाई त्यस्तो रूपमा मानिसहरूले देखे, मिडियाले लेखे तर उहाँले किन त्यस्तो गरिरहनुभएको छ भन्नेतर्फ कसैले विचार पुर्‍याएनन्। उहाँले त्यसो गर्नुपछाडिको कारण कसैले खोतल्न खोजेनन्। विश्वास गर्नुहुन्न होला, उहाँको एक आत्मीय मित्र भएका हैसियतले मैले यो छोटो समयमै उहाँका त्यस्ता आनीबानीमा धेरै सुधार ल्याइसकेकी छु। मित्रताको कर्तव्य पूरा गरेर सुधार ल्याउन खोज्दा उहाँ निकै भावुक हुनुभयो र भन्नुभयो- 'मलाई अहिलेसम्म त्यसो किन गरेको, त्यसो नगर भनेर अधिकार जमाएर कसैले केही भनेको थिएन। म आफूलाई तिम्रा लागि सुधार्छु भनेर उहाँ आफूलाई सुधार्नतर्फ लागिरहनुभएको छ। उहाँ क्रमशः

आफ्ना खराब आदत पनि छाड्दै हुनुहुन्छ। एक आत्मीय मित्रको है सियतले म उहाँको समाजमा इज्जत र प्रतिष्ठा बढाउन दृढ छु र त्यसका लागि मैले उहाँसँग वाचा पनि गरेकी छु।

तपाईंले मित्रताका लागि भुवन केसी नै किन रोज्नुभयो ?

उहाँलाई भेट्नुअघिसम्म उहाँका बारेमा जति कुरा सुनेकी थिए, ती गलत रहेछन्। नजिक भएर बुझ्दै जाँदा उहाँलाई एक असल मानिसका रूपमा पाएँ। मैले उहाँलाई नेपालको स्टार भुवन केसी भनेर होइन, सफा मन भएको मानिसका रूपमा चिनें। यस्तो असल मानिससँग मित्रता गाँस्न सकिन्छ भन्ने लाग्यो र मित्रता गहिरो हुँदै गयो।

यो मित्रताले कुनै विवाद सिर्जना नगर्ला ?

यो मेरो व्यक्तिगत जीवन हो। कुनै पुरुष र महिला असल मित्र हुन सक्दैनन् ? उनीहरू एक-अर्कासँग भेट्न, गफ गर्न सक्दैनन् ?

तपाईंहरूको मित्रताको यात्रा कहाँसम्म पुग्छ ?

चिनाजानी भयो, मित्रता भयो, त्यसपछि गहिरो मित्रतामा परिणत भयो। भविष्य कसले देखेको छ र ? भविष्यमा जे पनि हुनसक्छ। यदि त्यस्तो केही भयो भने सबैभन्दा पहिले साप्ताहिकलाई नै खबर गरौंला, हुन्न ?
Source:Saptahik kantipur

Posted by Butwalonline on 2:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भुवन केसीकी नयाँ "साथी""

Leave a reply