सम्साँझै झ्याल-ढोका बन्द
काठमाडौ, वैशाख ३ -
राति साढे नौ बजेको थियो । ठमेलको सञ्चयकोष भवनदेखि ज्याठा जाने गल्लीतिर यौनकर्मी र ग्राहकबीच सहज ढंगले मोलतोल भइरहेको थियो । रेट तय हुनेबित्तिकै यौनकर्मी ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लागेका देखिन्थे ।
प्रहरीको भ्यान आउँदा उनीहरू भित्रपट्टकिा गल्लीहरूमा लुक्थे । गइसकेपछि फेरि सडकमा आउँथे । नयाँ वर्षको रमझमबीच पहिलो दिन बिहीबार राति देखिएको यो दृश्य पश्चिमा मुलुकको रेड लाइट एरियालाई सम्झाउन पर्याप्त थियो ।
सडकका दुवैतिर लहरै बसेका १२ देखि ३५ वर्ष समूहका करिब १५ जना यौनकर्मीहरू हिँडिरहेकालाई तान्दै आफ्नो दर भनिरहेको
सुनिन्थ्यो । एउटा समूह ग्राहकसँग गएपछि भित्रतिरका गल्लीमा बाक्लै गरी बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँथ्यो । वरिपरिका स्थानीयवासीका घरका झ्याल-ढोका बन्द देखिन्थे ।
होटेल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएका देखिन्थे । 'ट्याक्सीभित्र होटेल वा हाम्रो डेरा कोठामा गए पनि हुन्छ,' मुस्किलले चौध कटेकी एक यौन व्यवसायीले भनिन् । पाँच सयदेखि हजार रुपैयाँ पाएपछि ट्याक्सी चालकले एकान्त स्थलमा लगेर रोकिदिने उनले
बताइन् । उनले भनिन्, 'मेरो बालाजुस्थित कोठामा गए पनि हुन्छ ।'
ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका रहेछन् । लैनचौरवासी मधुकर शाहीले यो पूरा ठमेलवासीको समस्या बन्न गएको बताए । 'साँझ परेपछि ठमेलका चोक र डबली वरिपरि यस्ता दृश्यहरू देखिनु सामान्य भएको छ,' उनले भने, 'अब बेलुकी पाँच कटेपछि परिवारसँग ठमेल घुम्न सकिन्न ।'
स्थानीयवासीका अनुसार पर्यटकको हब मानिने ठमेल चाक्सीबारी मार्गबाहेकको क्षेत्रमा यो समस्याले जरो गाडेको छ । ठमेल टोल सुधार समितिका अध्यक्ष मोहन श्रेष्ठले डेढ वर्षअघि एक महिनासम्म रात्रि गस्ती गरेर उनीहरूलाई धपाएको बताए । उनले अहिले फेरि पहिलेको भन्दा डरलाग्दो गरी यौनकर्मीहरू बढेको बताए ।
'साँझ छ बजेपछि स्थानीयले झ्याल र ढोका खोलेर बस्न सक्दैनन्, झ्याल छेउ र छानामा बस्नसमेत गाह्रो छ,' उनले भने, 'मज्जा गर्न आएकाहरूले स्थानीय छोरी, बुहारी र चेलीलाई समेत यौनकर्मी ठानेर फूलको गुच्छा हुत्याइदिन्छन् ।' बिहान उठेपछि घरका झ्याल र ढोकामा जे पनि फालिएको भेटिने उनले बताए ।
श्रेष्ठले फेरि रात्रि गस्ती गरेर धपाउने बाहेकको विकल्प नरहेको बताए । ठमेल पर्यटन विकास परिषद् र प्रहरीसँग छलफल गरेर रात्रि
गस्ती गर्नु बाहेकको विकल्प नरहेको उनले बताए ।
यो समस्याको हकमा ठमेल पर्यटन विकास परिषद् पनि निरीह देखिएको छ । परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले तीन-चार महिना अगाडिसम्म गस्ती गर्दा नियन्त्रणमा आए पनि फेरि यो समस्या देखिएको बताए । होटेल र रेस्टुरेन्टमा प्रहरीले कडाइ गरेपछि डान्स बार र मसाज रहेको क्षेत्रमा यो गतिविधि देखिन थालेको उनले बताए । ठमेलमा २२ डान्स बार र सयभन्दा बढी मसाज पार्लर यत्रतत्र छन् ।
मसाजमा यो गतिविधिलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी, प्रहरी र वडा कार्यालयको रोहवरमा आचारसंहिता तयार भएको उनले जानकारी दिए । सबैले देख्न सकिने गरी पारदर्शी ढंगले मसाज पार्लरको वैकल्पिक व्यवस्था गर्न उक्त आचारसंहितामा भनिएको छ ।
परिषद्का अध्यक्ष श्रेष्ठले आइतबार सरोकारवालालाई सबैलाई आचारसंहिता पठाएर साताभित्र लागू गर्ने म्याद दिइने बताए । उनले त्यसपछि कडाइका साथ अनुमगन सुरु गरिने बताए । उनले यो समस्या नियन्त्रण हुन नसकेको देखेर स्थानीय वडा कार्यालय र महानगरपालिकासँग छुट्टै रेड लाइट एरिया छुट्टयाउनलाई प्रस्ताव राखिसकेको बताए ।
स्थानीय वडा कार्यालयका सचिव सुमन अधिकारीले यो प्रस्ताव आए पनि ठमेलभित्र महानगरपालिकाले यसको अनुमति नदिने भएको
छ । 'सरकारसँग माग राखेर काठमाडौं बाहिरको कुनै एकान्त स्थललाई रेड लाइट स्टि्रट बनाउन सुझाव परिषद्लाई दिइसकेका छौं,' उनले भने ।
परिषद्का अध्यक्ष श्रेष्ठले स्थिर सरकार गठन हुनेबित्तिकै लबिङ गरेर रेड लाइट एरियाको मागलाई अघि बढाउने बताए ।
परिषद् र स्थानीयवासीले सुरक्षाकर्मीको कमजोर अनुगमनले यो समस्या नघटेको आरोप लगाएको
छ । दुईवटा प्रहरी प्रभागले ठमेल क्षेत्रको सुरक्षाको जिम्मेवारी वहन
गर्छ । तीमध्ये लैनचौर प्रहरी प्रभागका प्रमुख निरीक्षक शिवबहादुर सिंहले नयाँ वर्षको दिन सुरक्षामा बढी केन्दि्रत भएकाले यो पक्षमा ध्यान नगएको बताए ।
उनले आचारसंहिता नआएसम्म मसाज सञ्चालन नगर्न निर्देशन दिएको बताए । 'खोले पनि मसाज मापदण्ड बाहिरका अनैतिक काम नगर्न सञ्चालक/सञ्चालिकासँग प्रतिबद्धता व्यक्त गराइएको छ,'
उनले भने ।
उता यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी प्रभागको मातहतमा पर्छ । उक्त प्रभागका प्रमुख निरीक्षक कृष्णप्रसाद कोइरालाले उक्त क्षेत्रमा रात्रिपख सडकमा मोलमोलाइ गर्ने १५
स्थापित यौनकर्मीलाई पटक-पटक पक्राउ गरेर तस्बिरसहित रेकर्ड राखिएको बताए । उनले तीमध्ये
तीन जना बालिकालाई तीन दिनअघि मात्र माइती नेपालको जिम्मा लगाएको बताए ।
यो पेसामा हरेक दिन नयाँ अनुहार र उमेरका थपिने
गरेको हुनाले नियन्त्रण चुनौतीपूर्ण भएको बताए ।
Source:Kantipur News