|

विवाह घरमा चट्याङ पर्दा दुई पाहुनाको ज्यान गयो

सिन्धुपाल्चोक, वैशाख १- विवाह घरमा चट्याङ पर्दा नुवाकोटमा एक बालिकासहित दुई पाहुनाको ज्यान गएको छ। गए राति परेको चट्याङको गन्धले बेहुलासहित तीन जना बेहोससमेत भएका थिए। घटनापछि बिहे रोकिएको छ। फिकुरी–६ ताजीगाउँका आनन्दप्रसाद ओझाको घरमा राति पौने नौ बजेतिर चट्याङ परेको हो। चट्याङ पर्दा ओझाका छोरा लीलानाथको शुक्रबार हुने बिहेका लागि आएका पाहुना खाना खाँदै थिए।

घटनामा फिकुरी–६ की २५ वर्षीया रोजकुमारी न्यौपाने र डाँडागाउँ–३ रसुवाकी १३ वर्षीया बालिका मेनुका पौडेलको मृत्यु भएको प्रहरी चौकी फिकुरीका इन्चार्ज असई रामप्रसाद अधिकारीले बताए। चट्याङको गन्धले बेहोस उनीहलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउनासाथ राति नै मृत घोषित गरिएको थियो। उनीहरु बिहेको पाहुना बनेर साँझमात्र त्यहाँ पुगेका थिए।

अधिकारीका अनुसार बेहुलासहितका घाइतेको स्थानीय स्वास्थ्य संस्थामै उपचारपछि होस खुलेको छ। उनीहरु घर फर्केका छन्। छिमेकी मूलाबारी गाउँमा लीलानाथको विवाह हुँदै थियो। शुक्रबार मिर्मिरेमै जन्ती जाने तयारी थियो। घटनाका कारण बिहे रोकिएको असई अधिकारीले बताए। आफन्तले दुलही पक्षकोमा राति घटनाको जानकारी गराउँदै बिहे स्थगित गराएका थिए। चट्याङ पर्दा परिवारका सदस्यसहित उपस्थित २०-२२ जना पाहुनाबीच रुवाबासी चलेको थियो। चट्याङले घरमा भने कुनै क्षति पुगेको छैन।

यो समेत नुवाकोटमा एक सातामा चट्याङबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। चट्याङले मङ्गलबार सूर्यमति–९ का २० वर्षीय शिवराम चालिसेको मृत्यु भएको थियो।
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विवाह घरमा चट्याङ पर्दा दुई पाहुनाको ज्यान गयो"

Leave a reply