|

मुलुकको अर्थतन्त्र पराधीन बन्नुमा राज्य नै जिम्मेवार– उद्योगी व्यवसायी

<b>सलमान खांन,भैरहवा,२९ चैत ।</b>
उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्र पराधीन बन्दै जानुमा राज्य नै मुख्य जिम्मेवार भएको गुनासो गरेका छन् । उनीहरुले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रविना देशको आर्थिक विकास दीगो हुन नसक्ने भन्दै राज्यका निकाय गम्भीर बन्नुपर्ने धारणा राखे ।

उद्योग ब्यापार संगठन रुपन्देहीको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटनमा बोल्दै उद्योगी व्यवसायीहरुले औद्योगिक विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष कृष्ण आचार्यले स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष नीति बनाउनुपर्ने आग्रह गरे ।

उनले देशमा जलविद्युत,पर्यटन,जडिबुटी,हस्तकला जस्ता तुलनात्मक लाभका क्षेत्रहरु भएपनि उचित नीति नियमको अभाव र कार्यान्वयन तहमा कर्मचारीहरुको अपारदर्शी व्यवहारले थुप्रै समस्या झेल्नुपरेको गुनासो गरे । बढ्दो लोडसेडिङका कारण उर्जा संकट उद्योग–व्यवसाय संचालनको मुख्य समस्या बनेको भन्दै उनले झोलामा खोला राख्नेहरुलाई राज्यले कारवाही नगर्दा जलविद्युत उत्पादनले फड्को मार्न नसकेको स्पष्ट पारे । लुम्बिनीको पर्यटन विकास गर्न सके वर्षेनी लाखौं पर्यटक भित्राई समग्र देशकै आर्थिक कायापलट गर्न सकिने सम्भावना रहेको औंल्याउंदै उनले यसतर्फ निजी क्षेत्रले राज्यलाई दवाव दिनुपर्ने बताए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलले जिल्लाको आर्थिक विकास र लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी र रुपन्देहीको पहिचान झल्किने वस्तु उत्पादन गर्न उद्योगीलाई सुझाव दिए । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख डण्डपाणी भुसालले स्थानीय विशिष्टतामा आधारित तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने सुझाव दिए ।

एकीकृत माओवादीका केन्द्रीय सदस्य वामदेव क्षेत्रीले विदेशी सामानको ब्यापार तथा उपभोग गरेर स्वाधीन अर्थतन्त्र बन्न नसक्ने प्रष्ट पार्दै स्वदेशी वस्तुको उत्पादन र प्रयोग गर्न सुझाव दिए । उनले नीजि क्षेत्रले सरकारको मात्र मुख नताकी आफै पनि नमुना कामको थालनी गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, फोरम नेपालका जिल्ला अध्यक्ष महेन्द्र यादव,सद्भावना महतोका जिल्ला अध्यक्ष आनन्द गुप्ता,समाजसेवी सन्तोष पाण्डे,सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष ऋषि अग्रवाल,रुपन्देही ब्यापार संघका कार्यवाहक अध्यक्ष मोतिलाल पाण्डे,बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष रामप्रसाद बस्याल,सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष दीपक शर्मा,लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष बलराम शर्मा,पत्रकार टीपी भुसाल,पर्यटन व्यवसायी सागर अधिकारी लगायतले उद्योग ब्यापार संगठनले जिल्लाको आर्थिक र पर्यटन विकासमा निरन्तर क्रियाशील रहेको भन्दै सराहाना गरे ।

साधारणसभामा संगठनका अध्यक्ष मनिष जोशीले साना मझौला तथा ठुला सबैखाले उद्योगी व्यवसायीका हक अधिकारका लागि संगठन स्थापना भै क्रियाशील रहेको बताउंदै रुपन्देहीमा उद्योग,ब्यापार,पर्यटन र कृषि क्षेत्रको विकास गरी देशकै नमूना जिल्ला बनाउन सकिने धारणा राखे ।

संगठनका उपाध्यक्ष गिरिशचन्द्र त्रिपाठीको स्वागत,महासचिव नारायण भण्डारीको संचालन र अर्का उपाध्यक्ष खिमबहादुर खत्रीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाको बन्दसत्रले अध्यक्ष,महासचिव र कोषाध्यक्षका प्रतिवेदनहरु पारित गरेको छ ।

Posted by Butwalonline on 10:55 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुलुकको अर्थतन्त्र पराधीन बन्नुमा राज्य नै जिम्मेवार– उद्योगी व्यवसायी"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु