एस एल सी को परीक्षार्थी परिक्षा हलमै बेहोस
वृजराज कुशवाहा ,नवलपरासी,फागुन ४ - नवलपरासीमा एस एल सी परिक्षा दिदै गरेको एक परीक्षार्थी परिक्षा हलमै बेहोस भएपछि उपचारका लागि पृथ्बीचन्द जिल्ला अस्पताल परासीमा भर्ना गरिएको छ ।
परासीको आदर्श उच्च मावि परिक्षाकेन्द्रमा परिक्षा दिईरहेका राजनारायण मावि गेर्माका विद्यार्थी बबलु जयसवाल हलमै लडेपछि उपचारका लागि नजिकैको जिल्ला अस्पतालमा भर्ना गरिएको हो । गेर्मा गाविस ४ विशुनपूरा घर भै परासीमा डेरा गरी बसेका जायसवाल आज गणित विषयको परिक्षा दिदै गरेको अवस्थामा विहान ९ बजे परिक्षा हलमै बेहोस भएका हुन् ।
जायसवालको परिक्षाकेन्द्र नजिकै रहेको पृथ्बीचन्द जिल्ला अस्पताल परासीमा उपचार भैरहेको छ । करीब ३ घन्टासम्म पनि होस नखुलेको तथा अस्पतालमा डाक्टर उपस्थित नरहेकोले आफन्त चिन्तामा परेका छन् ।