समानुपातिक सहभागिताको माग गर्दै ज्ञापनपत्र
बिनोद परियार ,बुटवल,माघ ४- समानुपातिक सहभागिताको माग गर्दै रुपन्देहीको रुद्रपुरका दलितहरुले गाविसमा ज्ञापनपत्र बुझाएका छन् । रुद्रपुर गाविसमा रहेका कुनै पनि संघसंस्था र निकायमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै दलित संघसंगठनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन ।
चार बुदे ज्ञापनपत्रमा गाउ परिषदबाट पास गरिएको गाविसमा नियुक्ति गरिने २ जना कर्मचारीमध्ये एक जना दलित कर्मचारी राख्नुपर्ने,गाविसमा रहेका सामुदायिक तथा निजी विद्यालयहरुमा कम्तीमा एक जना दलित शिक्षकको ब्यवस्था, संघ संस्थाहरुमा समानुपातिक समावेशी दलितको अवधाराणा लागु गर्न माग गरिएको छ ।
दलित वर्ग उत्थान गाउ समन्वय समिति ,संयुक्त दलित संघर्ष समिति,मुक्ति समाज,राष्ट्रिय दलित मुक्ति मोर्चा,नेपाल दलित संघ,समानताका लागि जागरण केन्द्र नेपाल,दलित महिला संघ,दलित महिला सञ्जाले संयुक्त रुपमा रुद्रपुरका गाविस सचिव राजमजी गौतमलाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझेपछि सचिव गौतमले दलित अगुवाहरुसंगको छलफलपछि प्रकृया अगाडि बढाईने बताउनुभयो ।