साउदीमा १५० भन्दा बढी नेपाली कामदारहरू विचल्लीमा
विष्णुप्रसाद चापागाई,३० मंसिर, दमाम । साउदी अरबको दमामशहर अन्तर्गत पर्ने अलदैयास्थित अल-अब्दुल रहमन कन्ट्रयाक्टिङ एण्ड ट्रेडिङ कम्पनिमा कार्यरत १ सय ५० भन्दा बढी नेपाली कामदारहरू ९ महिनादेखि विचल्लीमा परेका छन् ।
विचल्ली पर्नेमा नेपाल, भारत, फिलिपिन्स लगायत विभिन्न देशका श्रमिकहरूको संख्या २ सय ५० भन्दा बढि रहेको छ । करिब तीनसयको संख्यामा रहेका कामदारहरूमध्ये २५० विचल्लीमा परेपछि बाँकी पचास कामदारहरू पनि जोखिममा परेका छन् ।
बेरोजगार साउदी नागरिकहरूको बृद्धि हुँदै गएपछि साउदी सरकारले निताकत कार्यक्रमलाई हरेक कम्पनिले व्यवहारमा उतार्नु पर्ने निर्देशन गरेको थियो । साउदी सरकारले गतसालको अन्त्यबाट लागू गरेको निताकत कार्यक्रमलाई कम्पनिले शुरूमै ध्यान नदिंदा धेरै नेपाली कामदारहरूले दुःख झेल्नु परेको बताउँदै पीडित मध्ये खगेश्वर तिमिल्सिनाले भन्नुभयो- निताकत कार्यक्रम अन्गर्गतका केही नियमहरू यस कम्पनीले पूरा गर्न नसकेको हुँदा विचल्ली हुने कामदारहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ ।’
उहाँका अनुसार कामदारहरूको इकामाको म्याद नाघिसक्दा पनि नविकरण गर्न नसकेको, जसको कारण इन्स्युरेन्स पनि नभएको, कम्पनिले विगत नौ महिनादेखि तलब पनि नदिएकोले पकेट खर्चको अभावमा टेलिफोन र औषधोपचारमा कठिनाई भएको, करारनामा पूरा भएकाहरूले घरविदा वा एक्जिटको लागि आवेदन दिंदा पनि छ महिनादेखि घर पठाउन नसकेको अबस्था छ।
समाधानका लागि कामदारहरूलाई कम्पनी मालिकसम्म आफ्ना समस्या राख्न समेत रोकटोक गरिने र दूतावास वा लेबर कोर्ट पुगे “तिमीहरूको सुरक्षा तिमीहरू नै गर्नू, कम्पनीको सुरक्षा कम्पनीले गर्छ” भन्दै तर्साउने गरेकोले अन्य विकल्प सोच्न नसकी चार नेपाली कामदाहरू कम्पनी छोडेर भागिसकेका छन् ।
पन्ध्र दिनअघि आफ्नो व्यक्तिगत कामको शिलशिलामा घुम्दै जाँदा गैर आवासीय नेपाली संघ साउदीका सदस्य विष्णुप्रसाद चापागाईंले यो समस्या थाहा पाएपछि पीडीत नेपालीहरूको उद्धारका लागि संस्थामा खबर गर्नुभएको थियो । तीन पटकको अथक प्रयासपछि पीडित नेपालीहरूसँग आजै गैर आवासीय नेपाली संघ साउदी अरबका प्रमुख सल्लाहकार तारा भण्डारी, अध्यक्ष धरम केसी, उपाध्यक्ष पुरूषात्तम श्रेष्ठ र सदस्य विष्णुप्रसाद चापागाईले सामुहिक रूपमा भेटघाट गरी छलफल गर्दा उनिहरूका थप समस्याहरू सार्वजनिक भएका हुन् ।
यी समस्याहरूको वस्तुस्थिति बुझेर छिटो भन्दा छिटो उद्धारको पहल गर्न संस्थाले नेपाली दूतावास रियादलाई आजै पत्राचार गरिसकेको छ । उपरोक्त नेपाली कामदारहरूमध्ये अधिकांशलाई ब्लुस्काइ इन्टरनेशनलले र केहीलाइ शिखर र ह्वाइट होराइजन म्यानपावर कम्पनीहरूले ८३ हजारदेखि १ लाख १० हजारसम्म असुलेर यस कम्पनीमा पठाएका थिए ।
समाचार :ऑनलाइन खबर बाट