अवैध रुपमा भारतबाट ल्याइएको कुखुराको मासु नष्ट
धादिङ, मंसिर ३० – अवैध रुपमा भारतबाट कुखुराको मासु ढुवानी गरेको आरोप लगाउंदै धादिङ धार्केका किसानले दुई कन्टेनर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् । प्रहरीको नियन्त्रणमा रहेका कुखुरा स्थानीयवासीले जवरजस्ती नष्ट गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच केहिबेर झडप हुँदा दुई जना घाइते भएका छन् ।
आक्रोशित स्थानीयवासीलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रु ग्यास र लाठी प्रहार गरेको छ ।
काठमाडौंमा रहेको केएफसी रेस्टुरेन्टका लागि भारतको नयाँ दिल्लीबाट ल्याईएको दुई कन्टेनर अर्थात ५ हजार १ सय ४ केजी (एउटामा ५ हजार र अर्कोमा ११ सय ४ केजी ) कुखुराको मासु शनिवार बिहान स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
भारतको नयाँ दिल्लीबाट दुईवटा कन्टेनरमा राखेर तयारी अवस्थामा ल्याईको कुखुरा स्वास्थ्य र खाद्य सुरक्षाको हिसावबाट खतरापूर्ण रहेको भन्दै पशु सेवा विभागकम उप महानिर्देशक डाक्टर रामकृष्ण खतिवडाले नष्ट गर्न प्रहरीलाई आग्रह गरेपछि स्थानीयवासीले डोजरले खाल्डो खनेर दुईवटा ट्रकमा रहेको ५ हजार १ सय ४ केजी कुखुरा खाल्डोमा हालेर नष्ट गरिदिएका हुन् ।
स्थानीयवासीले कुखुरा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि पशु सेवा विभागका उप महानिर्देशक खतिवडाको नेत्तृत्वमा बिशेषज्ञ चिकित्सकहरु डाक्टर शितलकाजी श्रेष्ठ, हरिप्रसाद सुवाल घटनास्थल आएका थिए । बिशेषज्ञ टोलीले भारतबाट आयत गरिएको कुखुरा नेपालमा स्वास्थ्यका लागि चुनौतिपूर्ण रहेको बताएका थिए ।
तीन वर्ष अघि सुरु भएको केएफसीले त्यतिखेरदेखि नै नेपालमा उत्पादित कुखुरा अन्तराष्ट्रिय मापदण्ड पूरा नभएको भन्दै थाइल्यान्डबाट मासु आयात गर्दै आएको छ । नियन्त्रणमा लिइएका दुबै कन्टेनरमा बेङकिज इन्डिया लिमिटेडको चलानी रहेको छ ।
उनीहरुले केएफसी तथा पेप्सीकोला उत्पादक देवयानी इन्टरनेसनलका लागि उक्त कन्टेनर ल्याएको जानकारी प्रहरीलाई दिएका छन् । कुखुरा उत्पादनमा नेपाली किसान आत्मनिर्भर भइसकेकोले विदेशबाट कुखुराको मासु ल्याउन नहुने कुखुरापालक किसानहरुले बताएका छन् ।
स्रोत :उज्यालो नेट वर्क