|

गत शुक्रवार पेट्रोल छर्केर जलाइएकी किशोरीको मृत्यु

नेपालगन्ज, मंसिर २७ - महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला गत शुक्रवार पेट्रोल छर्केर जलाईएकी बर्दिया, गुलरिया ८ की १६ बर्षीया शिवा हासमीको उपचारका क्रममा बुधवार बिहान काठमाण्डौंमा मृत्यु भएको छ ।

तीनदिनपछि थप उपचारका लागि उनलाई सोमवार काठमाण्डौं स्थित बीर अस्पत्तालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधवार बिहान ७ बजेतिर उनको मृत्यु भएको संगै रहेका भाई तनबीरले बताएका छन् ।

सरकारी स्तरबाट अपेक्षित सहयोग नपाएपनि नेपालगन्जका बिभिन्न संघसस्था र ब्यक्तिहरुले सहयोग रकम संकलन गरेर उनलाई थप उपचारका लागि तीनदिनपछि राजधानी पठाईएका थिए । शरिरको ९० प्रतिशत भाग जलिसकेकी शिबाको मृत्युभएपछि परिवारमा रुवाबासी सुरु भएको छ ।

उनका भाई तनबीरले बर्दिया गुलरिया ल्याएर अन्तिम संस्कार गरिने बताए । बुवा, आमा लगायत आफन्त सबै गुलरियामा भएकाले शव त्यतै ल्याएर सदगत गरिने उनको भनाई छ । प्रधानमन्त्री बाबुराम भट्टराईले समेत यो घटनामा चासो ब्यक्त गर्दै, ती युवतीलाई थप उपचारका लागि पठाउन गरिएको ढिलाईप्रति स्थानीय प्रशासन र महिला तथा बालबालिका कार्यालयलाई पत्राचार गरेर जवाफ माग गरेपछि उनलाई थप उपचारका लागि पठाईएको थियो ।

गुलरिया ८ की ती युवतीलाई आफुसंग बिहा गर्न नमानेको भन्दै छिमेकी बाबु खानले गत शुक्रवार पेट्रोल छर्केर जलाएको प्रहरीले जनाएको छ । युवतीका दाजुले उनका नाममा किटानी जाहेरी दिएका छन् । प्रहरीले म्याद थप गराएर अनुसन्धान भईरहेको जनाएको छ । ती युवतीले पनि बाबु खानले नै आगो लगाएको बयान दिएको बर्दियाका एसपी रामकृपाल साहले बताएका छन् ।
स्रोत :कांतिपुर दैनिक

Posted by Butwalonline on 5:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गत शुक्रवार पेट्रोल छर्केर जलाइएकी किशोरीको मृत्यु"

Leave a reply