|

कुन मुलुकमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक कति ?

काठमाडौं, २६ मंसिर । वैदेशिक रोजगारीका लागि बिदेसिनेको संख्यामा भएको वृद्धिसँगै पछिल्लो समय रोजगारदाता मुलुकले कामदारको न्यूनतम पारिश्रमिक बढाउन थालेका छन् । नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रूपमा रहेका युएई, कतार, साउदी अरब, कुवेत र मलेसियालगायत मुलुकले सबै वर्गका कामदारको पारिश्रमिकमा वृद्धि गरेका हुन् । मुलुकभित्र प्रशस्त रोजगारीको अवसर नभएकै कारण कम पारिश्रमिकमा ती मुलुकमा रोजगारी गरिरहेका नेपाली कामदारसमेत पारिश्रमिक वृद्धिबाट प्रत्यक्ष लाभान्वित भएका छन् । करिब एक महिनाअघि मात्र युएईले कामदारलाई विभिन्न वर्गमा वर्गीकरण गरी पारिश्रमिकमा उच्च वृद्धि गरेपछि नेपाली कामदार प्रत्यक्ष लाभान्वित बनेका हुन् ।

नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मानिने खाडीका साउदी अरब, कतार र कुवेतमा कामदारको न्यूनतम पारिश्रमिक निर्धारण केही समयअघि नै भइसकेको भए पनि युएईले भने करिब एक महिनाअघि मात्र गरेको हो । श्रम तथा रोजगार मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा जाने नेपाली कामदारलाई अदक्ष, अर्धदक्ष, दक्ष र उच्चदक्ष गरी चार भागमा वर्गीकण गरी छुट्टाछुट्टै पारिश्रमिक निर्धाण गरेको छ । मन्त्रालयका अनुसार अदक्ष कामदारको न्यूनतम पारिश्रमिक आठ सय डिराम र खाना भत्ता तीन सय गरी ११ सय दिराम निर्धारण भएको छ । युएईमा करिब दुई लाख नेपाली कामदार कार्यरत छन् । यस्तै, अर्धदक्ष कामदारको खाना भत्ता तीन सय र न्यूनतम पारिश्रमिक एक हजार गरी १३ सय, दक्ष कामदारको खाना भत्ता तीन सय र पारिश्रमिक १२ सय गरी १५ सय र उच्च दक्ष कामदारलाई खाना भत्ता पाँच सय र पारिश्रमिक पाँच हजार गरी ५५ सय डिराम निर्धारण भइसकेको छ । मन्त्रालयले न्यूनतम पारिश्रमिक ओभरटाइमबाहेक भएको जनाउँदै रोजगारदाताले खाना नि:शुल्क दिनुपर्ने, खाना नदिए खाना भत्तास्वरूप अरूलाई तीन सय र उच्च दक्षलाई पाँच सय डिराम दिनुपर्ने व्यवस्थासमेत गरेको छ ।

यस्तै, मुख्य श्रम गन्तव्य कतारमा न्यूनतम पारिश्रमिक पुन: बढाउने तयारीमा सरकार जुटेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता वुद्धिबहादुर खड्काले बताए । यसका लागि मन्त्रालयले त्यहाँस्थित दूतावाससँग सुझाव लिएर कामदारको न्यूनतम पारिश्रमिक बढाउन पहल सुरु गरेको उनको भनाइ छ । यसअघि सरकारले साउदी अरबको भने न्यूनतम पारिश्रमिक तोकिसकेको छ । त्यहाँ कार्यरत कामदारले न्यूनतम पारिश्रमिकबापत एक हजार साउदी रियाल पाउनु पर्ने जनाएको छ । सरकारले न्यूनतम पारिश्रमिक आठ सय र थप दुई सय रियाल पाउने व्यवस्था गरिसकेको खड्काले जनाए । मलेसियाले नेपाली कामदारलाई सुरक्षाक्षेत्रमा पुन: रोजगारी दिँदै पारिश्रमिकसमेत उच्च वृद्धि गरेको वैदेशिक रोजगार व्यवसायीको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकी सचिव सुवर्ण श्रेष्ठ पछिल्लोपटक मलेसियालगायत नेपाली कामदार जाने सबै मुलुकमा पारिश्रमिक बढेको बताउँछिन् । विगतमा अदक्ष र अर्धदक्ष कामदार मात्र जाने गरे पनि केही वर्षयता दक्ष कामदारसमेत ती मुलुकमा जाने भएकाले पारिश्रमिक बढेको उनको भनाइ छ । सुरक्षा क्षेत्रमा मलेसिया जाने कामदारले ५० हजारभन्दा बढी पारिश्रमिक पाउने गरेका छन् ।

विगतमा सरकारले कतारमा आठ सय रियाल, मलेसिया पाँच सय ४६ रिगेट, खाडी मुलुकमा एक सय २५ डलर, अल्जेरियामा तीन सय डलर, पोल्यान्डमा चार सय डलर, क्यानाडा दुई हजार सात सय २० र लिवियामा एक सय ७५ डलर न्यूनतम पारिश्रमिक निर्धारण गरेको थियो । आर्थिक वर्ष ०५०/५१ देखिहालसम्म वैदेशिक रोजगारीमा जानेको संख्या २५ लाख ९० हजार ९३ जना पुगेको छ । करिब अढाइदशक अघिबाटै नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेको भए पनि आधिकारिक रूपमा आव ०५०/५१ बाट मात्रै सरकारले वैदेशिक रोजगारीलाई मान्यता दिएको हो ।
स्रोत :सौर्य दैनिक

Posted by Butwalonline on 8:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुन मुलुकमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक कति ?"

Leave a reply