बुटवल-बेलहिया सडकलाई विस्तार गरी ६ लेन बनाइने
शेरबहादुर केसी, बुटवल, मंसिर ७ - बुटवल-बेलहिया सडकलाई विस्तार गरी ६ लेन बनाइने भएको छ। सडक विस्तारको काम शुरु भएको बुटवल-बेलहिया सडक विस्तार परियोजना प्रमुख सुरज सिग्देलले बताए।
आगामी दिनवर्ष भित्र पूरा गर्ने गरी काम शुरु गरिएको हो। सिमा क्षेत्र बेलहियादेखि बुटवलसम्मको दूरी २७ किलोमिटर छ। सडक विस्तारको काम बुटवल र बेलहिया दुवैतिरबाट शुरु गर्ने गरी टेण्डर आब्हान गरी काम अघि बढाइएको छ। यो वर्ष बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म साढे चार किलोमिटर र बुटवलदेखि योगीकुटीसम्म तीन किलोमिटर सडक विस्तार गर्ने परियोजना प्रमुख सिग्देलले बताए।
बेलहियादेखि डण्डापुलसम्मको डेढ किलो मिटर सडकको ठेक्का लामा कान्छाराम रायमाझी ज्वाइनभेञ्चरले ११ करोड रुपैंयामा लिएको छ। त्यसैगरी डण्डादेखि बुद्धचोकसम्म साढे तीन किलोमिटर सडक बिस्तारको ठेक्का ३८ करोड रुपैंयामा शर्मा एण्ड कम्पनीले लिएको छ। बुटवलको राजमार्ग चौराहादेखि योगिकुटीसम्म तीन किलोमिटर सडकको ठेक्का ३८ करोड रुपैंयामा लुम्विनी बिर्ल्डसले लिएको छ।
बुटवल-भैरहवा सडक विस्तारका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान सरकारको छ।
सिग्देलका अनुसार, यो सडकको चौडाई ५० मीटर हुनेछ। यसको बीचमा रहने डिभाइडरको दुवैतिर ७५ फिटका दुईवटा लेन बन्नेछन्। ७५ फिटका दुवै लेनलाई तीन-तीन भागमा बाँडेर ६ लेन बनाइने छ। ६ लेनको पहिलो लेन पैदलयात्री र रिक्साका लागि छुट्टयाइने छ। दोश्रो लेनमा ढिला चल्ने यातायातका साधन चल्नेछन्। तेश्रो लेनमा छिटो चल्ने यातायातका साधन गुड्नेछन्।
यो सडक विस्तारले सीमा क्षेत्रको व्यापारिक नगर भैरहवा र पहाडी क्षेत्रसंग सिधा सम्पर्क भएको अर्को व्यापारिक नगर बुटवलबीचको सिधा सम्पर्क छरितो हुने अपेक्षा गरिएको छ।
बुटवल भैरहवा सडक खण्ड ६ लेनको बन्ने भएपछि चार लेनको बनाउन लागिएको बुटवल नगरभित्रको मुख्य सडक पनि ६ लेन बनाइएको छ। राजमार्ग चौराहादेखि अस्पताललाइनसम्म ६ लेन सडक निर्माण भइसकेको छ। अस्पताललाइनदेखि गोलपार्कसम्म विस्तारको काम भइरहेको छ।
स्रोत : नागरिक