मधुमेह 'चिनी रोग' बाट हुनसक्ने खतरा
काठमाडौ, कार्तिक २९ - नेपालमा पनि मधुमेह तथा उच्च रक्तचापका बिरामी बढ्दो छ । मधुमेहलाई नेपाली 'चिनी रोग' भन्छन् । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि.ग्रा.र डि.लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह भएको मानिन्छ ।मधुमेह दुई प्रकारका हुन्छन् । इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप २ । मधुमेह क्लोम -प्याङ्क्रियाज) अंगबाट निस्कने हर्मोन इन्सुलिनसँग सम्बन्धित छ । इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा टाइप १ मधुमेह हुने गर्छ । टाइप १ मधुमेह इन्सुलिन हर्मोनको गलत क्रियाकलाप एवं इन्सुलिन हर्मोनको निष्त्रिmयताबाट हुन्छ । जस्तो कि इन्सुलिन हर्मोन कलेजो मांसपेशी एवं दिमागको कोषको कार्यमा निष्प्रभावी सावित हुने गर्छ ।
अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने, प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, मधुमेहको वंशानुगत रोग भएका व्यक्ति तथा तिनका सन्तति केही औषधिहरू एवं अन्य रोगसँगै अथवा अन्य रोगको उपचारसँगै आइलागेका समस्याबाट मधुमेह हुने गर्छ । मधुमेह रोग लागेका बिरामी यदि टाइप १ भएमा दुब्लो शरीर भएको, तीस वर्षभन्दा कममा नै रोग देखिन सक्छ ।
टाइप २ मधुमेहका बिरामीहरू ४० वर्ष नाघेका, शरीरको वजन बढी भएका -मोटा) एवं अल्छी व्यक्ति हुन्छन् । मधुमेहका रोगीहरूलाई अत्यधिक मात्रामा तिर्खा लाग्ने, भोक असाध्यै लाग्ने तर शरीरको वजन भने घट्दै जाने हुन्छ । रातमा बारम्बार पिसाब गर्न उठ्नुपर्ने तथा अत्यधिक पिसाब लाग्ने गर्छ । शरीरमा चिनीको मात्रा अत्यधिक हुने, पिसाब जाँच गराउँदा पिसाबमा चिनी देखिने, किटोन पदार्थ -हानिकारक) जम्मा हुने, शरीरमा अम्लीयपन ज्यादा हुने र बिरामी बेहोस हुने गर्छन् । सबै बिरामीमा लक्षण देखिनुपर्छ भन्ने छैन । कोही मानिसमा रगत जाँच गर्दा मधुमेह पत्ता लाग्छ । ती मानिसमा कुनै लक्षण नहुन पनि सक्छ ।
मधुमेहका बिरामीलाई मृगौला, मुटु, आँखा, पिसाबमा संक्रमण, छाला एवं दिमागी समस्या देखिन सक्छ । तसर्थ मधुमेह आफैंमा रोग पनि हो साथै अन्य रोगका कारण पनि । रगतमा चिनीको मात्रा साधारणभन्दा बढी भएमा रगत बग्ने धमनी र सिराको बनावटमा परिवर्तन आउँछ र धमनी साँघुरो हुने तथा तन्तुमा रगतको प्रवाह कम हुन्छ । जसले गर्दा हृदयाघात, मस्तिष्कघात, मृगौलाले काम नगर्ने, आँखाको पर्दामा हानि हुने तथा अन्धोपना हुन सक्छ । यसबाहेक शरीरका विभिन्न अंगमा अक्सिजन कम हुन गई शरीरका अंगमा घाउ भई काम नलाग्ने हुन सक्छ ।
यदि उपरोक्त लक्षण देखिएका छन् भने चिकित्सकीय परामर्श जरुरी हुन्छ र चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । यदि लक्षणहरू छैनन् तर रोग लाग्न सक्ने सम्भावना भने धेरै छ -जस्तो, बा, आमा, मावलीमा मधुमेहका बिरामी छन् वा आफैंमा मोटो शरीर छ वा मद्यपानको नशा छ आदि) भने त्यस्ता व्यक्तिले खाली पेटमा र खाना खाएको दुई घन्टापछि रगतमा चिनीको मापन गर्ने तथा पिसाबमा चिनी छ कि छैन भनी पिसाब जाँच गर्नुपर्छ । उच्च रक्तचाप या दीर्घरोग भएका व्यक्तिले कम्तीमा वर्षको दुईपटक रगतमा चिनीको मात्रा हेर्नु अनिवार्य हुन्छ ।
मधुमेहसम्बन्धी सामाजिक जागरण तथा चेतना आवश्यक छ । मधुमेह रोगबाट बच्न शरीर फुर्तिलो राख्न स्वस्थकर खाद्यान्न आवश्यक छ । चिल्लो, बोसो कम भएको खाना, कार्बोहाइडे्रट कम, कम तागतिलो खाद्यान्न आवश्यक छ । मद्यपान बन्द गर्ने एवं उच्च रक्तचाप भएका बिरामी, शरीरको तौल बढी भएको व्यक्ति र रोग लाग्ने सम्भावना भएका मानिसले विशेष ध्यान दिनुपर्छ ।
टाइप २ मधुमेहका बिरामीलाई चिकित्सकले मुखबाट खाने औषधि दिई रगतमा चिनीको मात्रालाई मिलाउन सहयोग गर्छन् साथै औषधि सेवन गर्ने व्यक्तिको खाद्यतालिका सम्बन्धित चिकित्सकले मिलाइदिन्छन् । टाइप १ मधुमेहमा चाहिं इन्सुलिन इन्जेक्सन आवश्यक पर्छ । नियमित व्यायाम गर्ने, खाद्य पदार्थको सही प्रयोग गर्दा वषौर्ंसम्म रोग भएर पनि सिर्जनशील जीवन बिताउन सकिन्छ । तसर्थ औषधिको नियमित सेवन, व्यायाम, पथपहरेज यस रोगको उपचार हो । लेखक शंकरापुरा अस्पतालका निर्देशक हुन् ।
स्रोत : कांतिपुर