नेपाली वैज्ञानिकले आविष्कार गरे प्रदूषण नियन्त्रणयुक्त इँटा बनाउने मेसिन
लमजुङ, आश्विन २० - नेपालकै पहिलो रोबोट वैज्ञानिक रमेश चौधरीले आविष्कार गरेको प्रदूषण नियन्त्रणयुक्त इँटा बनाउने मेसिन यहाँ प्रयोगमा ल्याइएको छ । करिब १० महिनाको प्रयासपछि तयार पारिएको आईएमबी/७५-१३२६ मोडेलको उक्त मेसिन लमजुङ इँटा उद्योगले परीक्षण गरेको छ ।
'नेपालमा पनि यत्रो मेसिन बन्छ भनेर कल्पनै गरेका थिएनौं,' परेवाडाँडाका भरत पौडेलले भने, 'आफ्नै गाउँठाउँमा बसेर यत्रो मेसिन देख्न पाइयो ।' अन्य इँटा उद्योगमा जडान गरिएको मेसिनको तुलनामा यो ९० प्रतिशत प्रदूषण कम गर्ने चौधरीले बताए । साथै अन्य मेसिनबाट प्रतिघन्टा ७ देखि ८ सय उत्पादन हुँदै आएकोमा यो मेसिनले प्रतिघन्टा १ हजार ८ सयदेखि २ हजार ५ सयसम्म इँटा उत्पादन गर्न सकिनेछ । मानवीय स्वास्थ्य र वातावरणीय स्वच्छताका लागि यस्तो मेसिन जडान गरेको उद्योगका सञ्चालक गमप्रसाद गुरुङले बताए ।
३ वर्षअघि निर्माण थालेको उक्त इँटा उद्योगमा गुरुङसहित लमजुङकै ५ जनाको करिब साढे १ करोड पुँजी लगानी छ । व्यक्तिगत लगानीमा सुरु गरिएको यो लुमजुङको सबैभन्दा ठूलो उद्योग हो । उद्योग परेवाडाँडा १ हाडेटारमा छ । ग्रामीण बस्तीमा उद्योग सञ्चालन गरे पनि प्रदूषण नबढोस् भन्ने हेतुले यस्तो मेसिनको खोजी गरिएको गुरुङले बताए ।
केही इँटा उद्योगहरूले यस प्रकारको मेसिन जडान गरे पनि नेपालमै बनेको भने यो पहिलोपटक हो । साढे २८ लाख रुपैयाँ बजारमूल्य रहेको मेसिन लमजुड इँटा उद्योगले भने परीक्षण अवधिमा भएकाले १८ लाख मात्र तिर्नुपरेको गुरुङले बताए । उक्त मेसिनको केही महिनाअघि विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमलाले काठमाडौंमा परीक्षण गर्दै उद्घाटन गरेकी थिइन् । त्यसबेला उनले प्रदूषण नियन्त्रणका लागि अन्य इँटा उद्योगलाई पनि प्रोत्साहित गर्ने बताएकी थिइन् ।
आफैंले तयार पारेको मेसिन सञ्चालन गर्न लमजुङ आइपुगेका रमेश चौधरीले उद्योगकै सञ्चालकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राखेर मेसिन निर्माण गरेको बताए । 'मेरो दिमागमा यो कुरा थिएन, दाइहरूले जिज्ञासा राख्नुभयो, अनि आवश्यकताले आविष्कार गर्यो,' चौधरीले भने । आवश्यकताअनुरूपको आविष्कार गरेमात्र उपयोग हुने उनको भनाइ छ । उनीसँग जिल्लाका स्थानीय शिक्षक तथा विद्यार्थीहरूले अन्तक्रिर्या गर्नुका साथै रेडियोहरूले अन्तर्वार्ता लिएका थिए ।
सामग्री सन्दर्भ :कांतिपुर

