म्यान अफ द म्याच राहुलले सेहवागको कीर्तिमान तोडे
काठमाडौं, भदौ ८- आइसिसी यु-१९ विश्वकपमा नेपालले निराशाजनक १३औं स्थानमा यात्रा टुंग्याउँदा राहुल विश्वकर्माले भने अनुपम कीर्तिमान बनाएका छन्। पपुवा न्युगिनीविरुद्ध बिहीबार नेपाललाई ६ विकेट विजय दिलाउँदा 'म्यान अफ द म्याच' राहुलले ३ रन खर्चेर ६ विकेट लिए। त्यसका लागि उनले ६.२ ओभरमा ४ मेडनसमेत राखेका थिए।
यो यु-१९ विश्वकप इतिहासकै उत्कृष्ट किफायती बलिङ प्रदर्शन हो। ५ ओभरभन्दा बढी बलिङ गरेको प्रदर्शन आधारमा भारतका वीरेन्द्र सेवागको प्रदर्शन यु-१९ विश्वकपमा उत्कृष्ट किफायती प्रदर्शन थियो। सेवागले सन् १९९८ मा दक्षिण अफ्रिकाको जोहानसबर्गमा स्कटल्यान्डविरुद्ध ८ ओभरमा ५ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिएका थिए।
आधिकारिक युथ एकदिवसीयमा यो दोस्रो उत्कृष्ट किफायती बलिङ हो। भारतका गौतम दत्ताले १९९३ मा इङ्यान्डविरुद्ध ९ ओभरमा ७ मेडन राख्दै ३ रन खर्चेर २ विकेट लिएका थिए। युथ एकदिवसीयमै राहुलको प्रदर्शन पाँचौं उत्कृष्ट र संयुक्त तेस्रो उत्कृष्ट हो।
अस्टेलियामा जारी यु-१९ विश्वकपमै राहुलको उत्कृष्ट बलिङ प्रदर्शन हो। यु-१९ विश्वकपमा कुल तेस्रो उत्कृष्ट बलिङ हो। श्रीलंका जीवन मेन्डिसले २००२ मा जिम्बावेविरुद्ध १९ रन खर्चेर ७ तथा न्युजिल्यान्डका टेन्ट बोउल्टले २० रन खर्चेर ७ विकेट लिएको प्रदर्शनमात्र राहुलभन्दा अगाडि छ।
छैटौंपटक विश्वकप खेलिरहेको नेपाली खेलाडीको उत्कृष्ट बलिङ प्रदर्शन पनि राहुलको नाममा बनेको छ। अघिल्लो खेलमा नामिबियाविरुद्ध भुवन कार्कीले २१ रन खर्चेर ५ विकेट लिनु नेपाली खेलाडीको यु-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन थियो। जारी प्रतियोगितामा राहुलले १३ विकेट लिइसकेका छन्। उनीभन्दा अगाडि रहेका इङ्ल्यान्डका रिस टोप्लेले १६ विकेट लिएका छन्।
वर्तमान नेपाली टोलीमा दोस्रोपटक यु-१९ विश्वकप खेल्ने राहुलमात्र हुन्। उनले मलेसियामा २००८ मा ६ खेलमा कुल १० विकेट लिएका थिए। कुल २३ विकेटसँगै उनी यु-१९ विश्वकपमा संयुक्त सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन्। पारस खड्काले ३ यु-१९ विश्वकप खेल्ने क्र्कममा १७ खेलमा २३ विकेट लिएका थिए। राहुलले ११ खेलमै यो उपलब्धि पाएका हुन्। नामिबियाविरुद्ध अघिल्लो खेलमा ढाडको समस्याका कारण राहुलले खेलेका थिएनन्।
समाचार नागरिक न्यूज बाट(विनोद पाण्डे)