|

एसएलसी पूरक परीक्षा केन्द्र वरिपरि चिट चोराउने अभिभावकको ओइरो


जाजरकोट, श्रावण १८ - एसएलसी पूरक परीक्षा केन्द्र वरिपरि अभिभावकको ओइरो लागेको छ । बुधबार सुरु अनिवार्य अंग्रेजी परीक्षाको पहिलो दिन केन्द्र परिसरमा चिट चोराउनेको भीडभाड थियो । साउने झरीमा छाता ओढेर आएका अभिभावकका कारण बाटोसमेत अवरुद्ध भयो ।

परीक्षा केन्द्रमा लागेको भीडमा अभिभावकमात्र नभई शिक्षकहरू पनि सहभागी थिए । रमिता हेर्न नभई आफन्त परीक्षार्थीलाई चिट चोराउन उक्त भीड केन्द्रभित्र प्रवेश रोक्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । एसएलसी परीक्षा सञ्चालन अवधिभर केन्द्र वरपर अभिभावक तथा शिक्षकको ठूलो भीड लाग्ने गरेको प्रत्यक्षदर्शी पे्रमबहादुर सिंहले बताए । बुधबारको परीक्षा अवधिमा केन्द्र बाहिर २ हजारभन्दा बढीको भीडभाड रहेको सिंहले बताए ।

अनिवार्य अंग्रेजी परीक्षामा नियमित र एक्जाम्टेड गरी ७ सय ३५ मा ६ सय ५८ ले परीक्षा दिएका छन् । जसमध्ये ३ सय ६९ छात्र २ सय ९२ छात्र छन् । ७७ अनुपस्थित रहे । परीक्षामा अनुचित कार्य गर्ने तीन निरीक्षक र एक परिचरलाई निष्कासन गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी योगेश्वर खत्रीले बताए । केन्द्र बाहिर भीडभाड भए पनि परीक्षा मर्यादित रूपमा सञ्चालन भएको खत्रीलेे दाबी गरे । यसअघि गाउँका केन्द्रमा जथाभावी प्रवेश गरेर चिट चोराउन बानी परेका अभिभावक भित्र पस्न नपाएपछि विस्तारै फर्केको उनले बताए ।

आफन्त र विद्यार्थीलाई चिट चोराउने उद्देश्यले सयौं अभिभावक तथा शिक्षकहरू सदरमुकाममा भरिएका छन् । परीक्षामा खटिएका बाहेक एउटै विद्यालयबाट ५ जनासम्म शिक्षक आएका छन् । शिक्षकहरू परीक्षा भन्दै सदरमुकाम आएपछि ती विद्यालयको पठनपाठन पनि अवरुद्ध भएको छ । होटल तथा स्थानीयका घर भरिभराउ छन् । कति परीक्षार्थीले खाने, बस्ने ठाउँसमेत नपाएको ढिमे १ की जानकी मल्लले बताइन् । 'सुत्ने कोठा नभएर बरन्डा र कोलियामा सुत्ने गरेकी छु,' उनले भनिन् । दुई दिनका लागि होटल सञ्चालकलाई ३ हजार अगि्रम दिएर खाने, बस्ने व्यवस्था मिलाएको उनले बताइन् ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 7:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसएलसी पूरक परीक्षा केन्द्र वरिपरि चिट चोराउने अभिभावकको ओइरो"

Leave a reply