|

अर्घाखाँचीमा भएको दुर्घटनामा मृत्यु हुने मध्ये १३ जनाको सनाखत


बुटवल, साउन ८- हिजो अर्घाखाँचीमा भएको माईक्रोबस दुर्घटनामा परेर मृत्यु हुने १५ मध्ये १३ जनाको सनाखत भएको छ। मृतक मध्ये ६ महिला र ९ जना पुरुष छन्।गाडी मालिक अर्घाखाँची बाँगी गाविसका नारायण प्रसाद पन्थी, कपिलवस्तु चनौटाका गाडी चालक राजेन्द्र चौधरी छन् ।

यसैगरी  अर्घाखाँची वाङ्ला गविसकी सीत वस्नेत, महेन्द्रकोट कपिलवस्तुकी शारदा बेलवासे र ओमप्रकास बेलवासे, अर्घाखाँचीमा कार्यरत राष्ट्रिय अनुसन्धानका अधिकृत अर्घाखाँची केरुगाका मेघराज खनाल र अनुसन्धानकै सूचक दाङका कृष्ण चौधरी, अर्घाखाँची हंसपुरकी मिना नेपाली, अर्घाखाँची जुकेनाकी चेतकला न्यौपाने र अर्घाखाँची ठाडाकी शान्ता अधिकारी, सितापुर अर्घाखाँचीका सहचालक पदम क्षेत्री, अर्घाखाँचीकै कमला पौडेल, ढाकावाङ अर्घाखाँचीका केशव थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। सनाखत हुन नसकेका दुईजना तराई क्षेत्रबाट मजदुरीका लागि आएका इन्स्पेक्टर चन्द्रकुमार थापाले बताए।

बुटवलबाट अर्घाखाँची सदरमुकाम सन्धिखर्क जाँदै गरेको देउराली यातायातको बा २ ख ७९४८ नम्बरको माईक्रो (फोर्स गाडी) हिजो करिव साढे ५ बजे नरपानी गाविसको दहखोलामा दुर्घटना भएको हो।

घाईते पाँचैजनालाई सन्धिखर्क स्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवल पठाइएकोमा थप उपचारका लागि ४ जनालाई भरतपुर मेडिकल कलेज पठाइएको छ भने एकजना बालक कृष्ण नेपालीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचा भैरहेको छ।

गाडीमा २० जना सवार रहेकामा बुटवलबाट एकजनाले मात्रै टिकट काटेका र बाँकी सबै विना टिकटका रहेका खुलेको छ।
प्रहरी सहायक निरिक्षक प्रकाशचन्द्र घिमिरेका अनुसार गाडी सडक देखि करिव २ सय मिटर तल खसेको थियो। घटनास्थल सन्धिखर्कदेखि करिव १२ किलोमिटर टाढा पर्छ।

प्रहरी नायव उपरिक्षक अरुण पौडेल सहितको प्रहरी टोलि, नेपाली सेना र स्थानीयले घाइतेको उद्धार र मृतकको शव निकाल्न खटिएका थिए। शव निकाल्न राती अवेरसम्म टोलि खटिएका थिए। भीरमा पल्टेका कारण उद्धारमा निकै कठिनाई भएको प्रनाउ पौडेलले बताए। सबै मृतकको शव जिल्ला अस्पतालमा राखिएको र सनाखत भएपछि सोमबार मात्रै आफन्तलाई बुझाईने पौडेलले बताए।

भीरमा एकठाउँ ठक्कर खाएर सोझै खोलामा खसेको गाडी क्षतविक्षत अवस्थामा छ। बाटो साँघुरो र घुम्ति भएका कारण स्टेरिंग फेल भएर दुर्घटना भएको घटनास्थल पुगेका इन्स्पेक्टर थापाले बताए।

कपिलवस्तुको गोरुसिंगे, ठाडा हुँदै सिन्धिखर्क जाने सडक निकै जोखिमपूर्ण मानिन्छ। बर्षेनी यो सडकमा सवारी दुर्घटना हुँदा दर्जनौं यात्रुले ज्यान गुमाउने गरेका छन्।

गाडी क्षतविक्षत अवस्थामा छ। बाटो साँघुरो र घुम्ति भएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। घाइतेको उद्दार र मृतकको शव निकाल्न प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन्। साढे पाँच बजेतिर दुर्घटना भएको लुम्विनी अञ्चल प्रहरी कार्यालयका एसएसपी बमबहादुर भण्डारीले नागरिकन्युजलाई बताए।
गाडी दुई सय मिटर तल खोल्सामा खसेको सन्धिखर्कबाट घटनास्थल पुगेका डिलचन्द्र रायमाझीले बताए। घटनास्थल सन्धिखर्कबाट ६ किलोमिटरको दूरीमा छ।
नागरिक न्यूज (टेकनारायण भट्टराई /शेरबहादुर केसी)

Posted by Butwalonline on 8:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अर्घाखाँचीमा भएको दुर्घटनामा मृत्यु हुने मध्ये १३ जनाको सनाखत"

Leave a reply