स्याङ्जामा विषालु च्याउ खाँदा परिवारका सबै बिरामी
काठमाडौ, असार २३ - स्याङ्जाको जगत्रदेवी २ बलामदेवीथानमा बिहीबार जंगली विषालु च्याउ खाँदा परिवारका सबै बिरामी परेका छन् । घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएपछि सबैलाई बिहीबार राति नै तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो ।
बिरामी पर्नेहरू ४५ वर्षीय यामकला थापा, १८ वर्षीय निर्मला, १२ वर्षीयठगेन, अर्का छोरा सोवित छन् । यस्तै यामकलाकै छोरीतर्फका नाति ५ वर्षका दीपेश थापा र एक वर्षकी जेनी थापा पनि मिसन अस्पताल भर्ना भएका छन् । यामकलाका श्रीमान् कामका लागि भारतको मुम्बई बस्छन् । दीपेश र जेनिका बाबु भारत र आमा दुबईमा छन् ।
पानी परेपछि निस्कने छाते च्याउ छोराले खोजेर ल्याएको र सधैं खाँदा केही नभएकाले पकाएर खाएको अर्धचेतमा रहेकी यामकलाले बताइन् । छिमेकी नन्दराज न्यौपानेका अनुसार बिहीबार दिउँसो २ बजेतिर आमा यामकला मातेजस्तो गरेर सडकमा सवारी हान्न आएपछि के खाएको भन्ने चर्चा चल्दा च्याउको तरकारी खाएको थाहा पाएपछि अस्पताल ल्याइएको हो ।
मिसन अस्पतालमै जंगली विषालु च्याउ खाएका गुल्मी दुबीचौरकी पवीकला घर्ती, गुल्मी अर्खलेका कमला परियार, दलबहादुर परियार र पार्वती परियारको उपचार भइरहेको अस्पज्ञ तालले जनाएको छ । पाल्पा हेक्लाङ्का नरेश सारुको समेत उपचार भइरहेको छ । गुल्मी दुबीचौरकी ४ वर्षीय शान्ता विक र पाल्पा हेक्लाङ्की ८ वर्षीय सुस्मिता सारु उपचारपछि घर फर्केका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा. निरञ्जन शर्माका अनुसार विषालु च्याउ खाँदा कलेजोमा असर गर्ने बताए । उनले कलेजो नै फेर्नुपर्ने भएकाले च्याउकै विषलाई कम गर्ने औषधि नै नभएकाले उपचारमा समस्या आएको बताए ।
समाचार कांतिपुर बाट
