७ जना जेष्ठ नागरिकलाई सम्मान
हेमराज भट्ट/नेपालगन्ज,असार २२ - बाँकेको बिनौना गा.बि.स.का ७ जना जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिचमा सम्मान गरिएकोछ । बिनौना गाऊ बिकास समिति र बागेश्वरी असल शासन क्लब (बास) को आयोजनामा आज सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।
उमेरको जेष्ठता र उनीहरुले समाजमा दिएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । बिभिन्न वडाबाट छनौट गरिएका ७ जनालाई प्रमाणपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानीत जेष्ठ नागरिकहरु । |
सम्मानित हुनेहरुमा मिश्रीलाल थारु, सुनकेशरी थारु, छल्लु थारु, लट्कनिया थारु, ढोरिया थारु, सवना थारु र लालबिर थारु.रहेका छन् । उनीहरुलाई स्थानीय नेताहरु राष्ट्रिय जनशक्ति पार्टी बिनौनाका अध्यक्ष जित बहादुर डाँगी , एमाओवादीका प्रतिनिधि बिर बहादुर चौधरी, गा.बि.स. प्रतिनिधि सीता खत्रिले दोसल्ला ओढाएर सम्मान गरेका थिए । बास निर्देशक नमस्कार शाहले संचालन गरेको कार्यक्रममा स्वागत बास लेखा अधिकृत प्रतिक्षा गिरीले गरेकी थिईन् भने संयोजन गंगा वलिले गरेकि थिईन् ।
सम्मान पछि सम्मानितहरुका तर्फबाट बोल्दै मिश्रिलाल थारुले सम्मानित सबै जीवनकै पहिलो पटक सम्मानित भएको बताए । जीवनको उत्तराद्र्धमा भएपनि हामीलाई सम्मान गरेर हाम्रो योगदानको कदर भयो, हामी खुसी छौं उनले भने । कार्यक्रममा बोल्दै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष जित बहादुर डाँगी ले जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्छ भन्ने चेतना राजनितीक पार्टीलाई पनि आउन जरुरी भएको धारणा राखे । एमाओबादीका बिर बहादुर गिरीले समाजका अग्रजलाई सम्मान गर्ने नयाँ परिपाटीको शुरुवात आफैमा प्रशंसनिए भएका बताए । गा.बि.स प्रतिनिधि सीता खत्रीले जेष्ठ नागरिक सम्मान मानबिय कार्य भएको बताईन् ।
