पाल्पामा विषालु जंगली च्याउ खाँदा तीनको मृत्यु
मुक्तिप्रसाद न्यौपाने ,पाल्पा,आषाढ १९ - जंगलबाट ल्याएको विषालु च्याउ खाँदा पाल्पामा तीन जनाको मृत्यु भएको छ भने दुई जना विरामी भइकाछन् ।
मृत्यु हुनेहरुमा हेक्लाङ्ग गाउ विकास समिति वडा नं. ८ भञ्ज्याङ्ग पाल्पाका १३ वर्षिय एकबहादुर सारु, ११ वर्षिय किरन सारु र ६ वर्षका कुशल राना रहेकाछन् । उनीहरु तीनै जनाको उपचारका क्रममा युनाइटेड मिशन अस्पताल पाल्पामा मृत्यु भएको मिशन अस्पतालले जनाएको छ । १६ गते विहान जंगलबाट खोजेर ल्याएको च्याउ भाई बैनी र कुशलका साथमा एकबहादुरले पकाएर खाएका थिए । उनले पकाएर राखेको च्याउ आमा ठनमाया सारुले समेत खाएकी थिईन् । ठनमायाको अहिले मिशनमै उपचार भैरहेको छ ।
च्याउ खाएपछि विरामी भएका सबैलाई १७ गते अस्पताल ल्याइएको थियो । मृत्यु भएका तीनैजनालाई अहिले पोष्ट मार्टमकालागि जिल्ला अस्पताल पाल्पामा लग्ने तैयारी भैरहेको छ।