प्रवेशिका परिक्षामा दलितमा सुस्मिता प्रथमको दावी
रूपन्देही,१ असार । बुटवलकी सुस्मिता नेपालीले एसएलसि प्रवेशिका परिक्षामा दलित समुदायबाट सबैभन्दा धेरै अंक ल्याएको दावी गरिएको छ । रुपन्देहीको शंकरनगर स्थित स्मृति बोर्डिङ स्कुलबाट एसएलसि दिएकी नेपालीले ७ सय २७ अर्थात ९०.८७ प्रतिशत अंक ल्याएकी छन् । दलित विद्यार्थीहरुबाट धेरै अंक ल्याएको परिवारजनले दावी गरेका छन् । बुटवल गोलपार्क निवासि सुस्मिता सानैदेखि मेहनती भएको विद्यालयका प्राचार्य हरि ज्ञवालीले बताए । उनका अनुसार दलित समुदायबाट सुस्मिताको अंक उच्च हो । उनले पछाडि पारिएको समुदायबाट उनले ल्याएको अंक निकै राम्रो भएको भन्दै प्रोत्साहन गर्नुपर्ने बताए । समग्रमा रुपन्देहीमै सुस्मिताको अंक उत्कृष्टमा परेको छ । आमा सिता नेपालीले छोरीले राम्रो अंक ल्याएकोमा खुशि ब्यक्त गरेकी छन् ।
उनले आफ्नो छोरीको अंक दलित समुदायबाट सहभागि विद्यार्थीमध्ये उत्कृष्ट भएको हुन सक्ने बताईन । सुस्मिताको आमा सिताले सिलाईको काम गर्छिन । बुवा प्रेम नेपाली साउदी अरबमा रोजगारी छन् । छोरीको ईच्छा डाक्टर पढ्ने भएपनि आर्थिक अवस्थाले नभेट्ने आमा सिताले बताईन । सुस्मिताले सोच अनुसारकै नतिजा आएको भन्दै विज्ञानबाट चिकित्सा क्षेत्रमा लाग्ने बताईएकी छन् । रुपन्देहीमा कुल विद्यार्थीमध्ये करिब २० प्रतिशत दलित विद्यार्थीहरु रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

