|

दुबईमा साकेला उभौली पर्वको रमझम(फोटो फिचरसहित)




लालबहादुर ढेंगा, दुबई, युएई  किरांत राईहरुको महान साकेला उभौली पर्व युएईवासी राईहरुले आफ्नै भाषा, रितीरिवाज र परम्परा अनुसार विभिन्न जनजातिहरुको झांकी तथा रंगारंग सांस्कृतिक कार्यक्रमका साथ धुमधामसंग मनाएका छन् । सो पर्व वि.स. २०६९ यले सम्वत ५०७२ को उपलक्ष्यमा गत ११ मे शुक्रबारका दिन दुबईको इम्पिरियल स्वीट्स होटलमा किरांत राई यायोक्खा युएईको आयोजनामा भएको हो ।


उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदूतावासका महामहिम राजदूत धन्ञ्जय झा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता किरांत राई यायोक्खा युएईका अध्यक्ष कटक राईले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवी र पत्रकारहरु रहेको कार्यक्रमलाई गायक उमेश राईले संचालन गर्नु भएको थियो ।

प्रमुख अतिथि झा र अध्यक्ष राईको सयुक्त रुपमा दीप प्रज्वलन गरि ढोल बजाउंदै थालनी गरेको कार्यक्रममा संस्थाको तर्फबाट मुम्चे राईले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आ–आफ्ना मन्तव्यको क्रममा प्रवासमा पनि आफ्नो जातिय पर्व र परम्परालाई जीवित राख्दै नेपालीहरुको संस्कृतिलाई चिनाउंनमा सफल भएको बताए ।

प्रख्यात साकेला नृत्यले किरांत राईहरुको पहिचानलाई उजागर गरेको थियो भने “रापतीको माछीले कलिलो सिमलीको लेउ खायो” भन्ने गीतको बोलमा मुना राईले नृत्य गर्दै दर्शकलाई तताएको थियो । त्यस्तैगरी गायिका मनिषा राईको “गयौ निष्ठुरी आफ्नै र तिर्खा लाग्यो पानी खाए” गीतमा भने सबै झुम्न समेत भ्याएका थिए ।

अन्य कलाकारहरु कविता राई, रोशन राई, नरेन्द्र राई, नन्दु राई, दीप सुव्वा, उमेश राईको प्रस्तुतिले निकै मनोरञ्जन दिएको थियो । तर, हांस्य कलाकार निर आले र बम थापाको प्रस्तुतिले भने दर्शकहरुलाई पेट मिचीमिची हांस्नसम्म बाध्य तुल्याएको थियो ।

विगतदेखि सामाजिक कार्यकर्ताको रुपमा किरांत राई यायोक्खा युएईलाई आफ्नो अमूल्य योगदान दिएकोमा जीत राई, भुवन राई र मुक्ती राईलाई महामहिम झा र अध्यक्ष राईले खादा ओढाउंदै सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।  










     


     

Posted by Butwalonline on 11:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा साकेला उभौली पर्वको रमझम(फोटो फिचरसहित)"

Leave a reply