भारतीय सुरक्षाकर्मीको दादागिरीप्रति स्थानीय बासि आक्रोशित
काँकडभिट्टा, वैशाख २५ - मन्त्रीको स्कर्टिङ भनेर हतियारसहित आइतबार काँकडभिट्टा नाकाबाट नेपाल छिरेका चार भारतीय सुरक्षाकर्मीलाई स्थानीयको सहयोगमा प्रहरीले बाटैबाट फर्कायो । करिब आधा घन्टा सीमा नाकामा तनावको अवस्था भयो ।
पूर्वोत्तर भारतको असम राज्यको बोडोलेन्ड टेरेटोरियल काउन्सिल -बीटीसी) का दुई मन्त्रीको स्कर्टिङमा आएका असम पुलिस फोर्सका चार हतियारधारीलाई स्थानीयको सहयोगमा प्रहरीले फर्काएको हो ।
झापाको धुलाबारीमा सोमबार हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा सहभागी हुन बीटीसीका कृषि तथा संस्कृतिमन्त्री रिथाराम वसोमोतारी र खाद्य तथा प्रविधि मन्त्री लम्साउ दैमारी आइतबार अपराह्न साढे ४ बजे आएका थिए । उनीहरूको स्कर्टिङका लागि आएको एएस १६-१९२० नम्बरको जिपलाई प्रहरीको सहयोगमा स्थानीयले भन्सार गेटबाट रोकेर फर्काएका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक हेमन्त पालले हतियारसहित आएका प्रहरीले प्रवेश गर्ने बेलामा नेपाल प्रहरीलाई जानकारी गराएर हतियार राखेरमात्रै आउनुपर्ने प्रावधान रहे पनि उनीहरूले नेपालतिर जानकारी नै नदिई सोझै प्रवेश गरेको पाइएको बताए । पालले भने, 'उनीहरूको प्रवेश यो नीतिविपरीत हो ।'
हतियारसहित भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय 'भारतीय दादागिरी' भएको बताउँदै आक्रोशित बनेका थिए । स्थानीय विधान श्रेष्ठले भने, 'भारतको यो हेपाहा प्रवृत्ति हो ।' स्थानीयले कृषि मन्त्री सवार एएस १६ बी- ००३, खाद्य मन्त्री सवार एएस १६ ए- ३७६२, एएस ०१- एजेड ०२५१ र एएस ०१- ए ०५ नम्बरका सवारी समेतलाई प्रवेशमा रोक लगाएका थिए । कृषि मन्त्रीका निजी सचिव ए वसुमोतारीले झुक्किएर हतियारसहित छिर्न पुगिएको बताएका थिए । उनले कान्तिपुरसँग भने, 'झुक्किएर आएका हांै, यस घटनाप्रति हामी क्षमाप्रार्थी छांै ।'
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले हतियारसहित नेपाल आएका सुरक्षाकर्मीलाई भारततिरै फर्काइएको र मन्त्रीलगायतको टोलीलाई मात्रै प्रवेश गर्न दिइएको बताए ।
समाचार कांतिपुर दैनिक बाट