मन्त्रिपरिषद् बिघटन गरि बाबुराम भट्टराईकै नेतृत्वमा सरकार बन्ने
काठमाडौँ, वैशाख २०- बाबुराम भट्टराई नेतृत्वको वर्तमान मन्त्रिपरिषद् बिघटन गरि उनकै नेतृत्वमा कांग्रेस एमाले सम्मिलित नयाँ राष्ट्रिय सरकार बनाउन मुख्य दल सहमत भएका छन् ।
प्रमुख तीन दल र मधेसी मोर्चाको बुधबार साँझ बानेश्वरमा बसेको वैठकमा दलहरुवीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको छ ।
सहमतिअनुसार भोलि (बिहीबार)नै प्रधानमन्त्री भट्टराईले मौजुदा मन्त्रिपरिषद् विघटन गरि मुख्य राजनीतिक दलहरुलाई सरकारमा सहभागी हुन आह्वान गर्नुहुनेछ । त्यसअनुसार एक दुई दिनमै कांग्रेस र एमालेसहितका दल सरकारमा सहभागी हुनेछन भने मधेसी मोर्चापनि सरकारमा रहने छ । दलहरुवीचको भद्र सहमतिअनुसार बाबुराम नेतृत्वको नयाँ सरकारले नै संबिधान जारी गर्ने छ र संबिधान जारी गर्न राष्ट्रपतिकहाँ पठाउँदा प्रधानमन्त्री भट्टराईले राजीनामा पत्र पनि बुझाउनुहुने छ । त्यसपछि कांग्रेस नेतृत्वमा फेरि राष्ट्रिय सहमतिको सरकार बनाइने छ जसले मुलुकमा नयाँ चुनाव गराउने छ ।
वैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो- ‘भोलि नै यो सरकार बिघटन हुन्छ र राष्ट्रिय सहमतिको सरकार गठन प्रकृया पनि सुरु हुन्छ ।’
दलहरुवीच राष्ट्रिय सहमतिको सरकारसहित शासकीय स्वरुपमा समेत सहमति भएको र त्यसलाई भोलि बिहान वस्ने वैठकले लिखित रुप दिएपछि भट्टराईले मन्त्रिपरिषद् विघटन गर्ने सहमति भएको स्रोतको दावी छ । वैठकपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दलहरुवीच भोली नै लिखित सहमति हुन लागेको जानकारी दिनुभयो । हात्तीवन वैठकपछि आजको वैठक सवैभन्दा सकरात्मक रहेको सिटौलाले बताउनु भयो ।
स्रोतका अनुसार मिश्रीत शासकीय प्रणालीमा जान समेत दलहरुवीच सहमति भएको छ । संघीयताको बिषयमा भने दलहरुवीच अहिलेसम्म सहमति जुटन सकेको छैन् । तर संघीयताको बिबाद मिलाउन सवै दल तयार देखिएकाले नयाँ सरकार बन्ने प्रकृयासँगै संघीयताको बिबाद पनि टुंगो लगाउन दलहरु सहमत भएका छन् ।
समाचार ओनलाइन खबर बाट