|

घरपरिवारमा रुवावासी एक महिनासम्म शव आएन


पिपलटारी (पर्वत), वैशाख २९ - रूपा विकका आँखा ओभानो नभएको १८ दिन पुग्यो । वैशाख ९ गते साउदीमा रहेका श्रीमान् डिलबहादुरसँग घरपरिवार र सुखदुःखका बारेमा १५ मिनेटसम्म कुरा गरेकी उनको त्यो संवाद नै अन्तिम बन्यो । भोलिपल्ट बिहान काम गर्ने क्रममा सडक दुर्घटनामा परी श्रीमानको मृत्यु भएको खबर आफन्तको घरसम्म आए पनि उनी, दुई नाबालिका छोरी र वृद्ध आमाबुवालाई घाइते भई उपचार गराइरहेको भनी सुनाइयो । त्यसपछि रूपाले डिलबहादुरलाई कैयौं पटक फोन डायल गरिन् । तर फोन लाग्न सकेन । आफन्तले साँचो कुरा नभनेपछि उनका लागि रूँदै बस्नुको विकल्प भएन ।
'बाबालाई के भयो भन्दै छोरीहरूले दिनहुँ सोध्ने गर्छन्,' रूपाले रूँदै भनिन्, 'छोरीहरूको प्रश्नको उत्तर मसँग नभएपछि उनीहरूको अनुहार हेर्दै बस्नु बाहेक उपाय हुँदैन ।' उनले श्रीमानको सास वा लास जे भए पनि घरमा ल्याइदिन आग्रह गरिन् । उनका ७ र ४ वर्षका दुई छोरी छन् ।
०६१ सालमा काठमाडौंको स्काइ ओभरसियर्स मेनपावरमार्फत साउदी पुगेका उनी साउदी अरबको अलयुनी इन्भेस्टमेन्ट एन्ड कन्स्ट्रक्टिङ कम्पनीमा सिकर्मी काम गर्दै आएका र सडकमा काम गर्ने सिलसिलामा दुर्घटनामा परी मृत्यु भएको हो । उनको शव साउदीकै अस्पतालमा राखिएको आफन्तले बताए ।
'कात्तिकमा आएर गाउँमा बाँकी रहेको सबै ऋण तिर्छु भन्दै छोराले फोन गरेको थियो,' ७० वर्षीया आमा हरिकलाले भक्कानिँदै भनिन्, 'मर्दा मर्दा बाँचेको एक छोरोलाई पनि दैवले हरेजस्तो छ । अब कसको सहारामा बस्नु ?' उनले छोराको शव चाँडै ल्याइदिन सरकारसँग माग गरिन् । हरिकला एउटा आँखा राम्रोसँग देख्दिनन् । डिलबहादुर सडक दुर्घटनामा परेदेखि नै घरको चुलोमा आगो बलेको छैन । ६ छोरामध्ये सबैको बाल्यकालमा मृत्यु भएकाले डिलबहादुरमात्र जीवित थिए । हरिकलाका ४ छोरी छन् । गाउँमै ऋण लिएर साउदी गएका डिलबहादुरले मजदुरी गरेर पठाएको रकम घर खर्च गर्दैमा सकिएपछि तिर्न नसकेको परिवारले बताए । 'गरेर खाने खेतबारी पनि छैन,' बुवा शेरबहादुरले भने, 'त्यही भएर छोराको मजदुरीले परिवार अडिएको थियो ।'  उनले छोरा विदेश जाँदा लिएको ऋणको ब्याज बढेर डेढ लाख पुगेको बताए ।
वर्षअघि घर आएर उनी पुनः साउदी गएका हुन् । 'हामीले शव नआउन्जेल परिवारमा घाइते भएको भनी जानकारी गराएका छौं,' डिलबहादुरका माइलो बुवाका छोरा विष्णु विकले भने, 'सरकारले शव ल्याइदिए परिवारलाई जानकारी हुने थियो ।'
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 7:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घरपरिवारमा रुवावासी एक महिनासम्म शव आएन"

Leave a reply