कैदीकैदीबीच झडप हुँदा एक चिनियाँसहित तीनजना घाइते
चौतारा, वैशाख ३० - जिल्ला कारागार सिन्धुपाल्चोकका कैदीकैदीबीच झडप हुँदा थुनामा रहेका एक चिनियाँसहित तीनजना घाइते भएका छन्। कारागारका नाइके तथा भाइनाइकेले अनावश्यक रुपमा दमन गरी बेलाबेलामा कुटपिटसमेत गर्ने गरेको भन्दै गएराति आन्दोलित कैदीबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
घाइते चिनियाँ नागरिक समेत नेपालका बलबहादुर तामाङ र दुर्गाबहादुर मगरलाई राति नै चौतारा अस्पतालमा उपचार गराई कारागारमा फर्काइएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
प्रहरीले तीनजना मात्र घाइते भने पनि कैदीहरुले छ-सातजना घाइते भएको बताएका छन्। यसैबीच, घटनामा संलग्न भएको आरोपमा छजनालाई हिरासतमा राखिएको प्रहरीले बताएको छ।सातजना महिला कैदीका लागि बनाइएको नवनिर्मित कारागार भवनमा हाल ९२ जना पुरुष कैदीलाई राखिएको छ। -रासस
समाचार नागरिक न्यूज बाट
