बहिर्गमनमा परेका लडाकुद्वारा शक्तिखोरमा प्रदर्शन २५ जना पक्राउ
चितवन, चैत २८- चितवनस्थित शक्तिखोर शिविरमा बहिर्गमनमा परेका लडाकुहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले २५ जना बहिर्गमित लडाकुलाई हिरासतमा लिएको छ। आफूहरुको माग सम्बोधन नगरेको भन्दै ती लडाकुहरुले शिविर पछाडिपट्टिको गेटबाट भित्र छिरेर प्रदर्शन गरेका हुन्।
झडपको स्थिति सिर्जना हुन नदिन जिल्ला प्रशासन केन्द्रले थप प्रहरी परिचालन गरेको छ। चितवनका एसपी भोपालकुमार भण्डारी र प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीसमेत शक्तिखोर पुगेका छन्।
त्यस्तै जनयुद्धकालमा अपांग भएका लडाकुहरुले समेत आफूहरुको माग पूरा नगरेको भन्दै शिविर बाहिर प्रदर्शन गरेका छन्।
शीर्ष नेताहरुको निर्णय अझै नआइसकेकाले लडाकुहरुको पुनःबर्गिकरणको काम सुरु हुन नसकेको विशेष समितिका संयोजक बालानन्द शर्माले बताए।
