ओभर डोज औषधि सेवनले ज्यान जानसक्छ
काठमाडौ, चैत्र २९ - डिप्रेसनका लागि प्रयोग हुने औषधि एकैपल्ट १० चक्की खाएपछि बेहोस भएकी सिन्धुली हसाइ-५ कि ३५ वर्षीया मीना घलेको उपचारका क्रममा गत भदौ १३ गते ज्यान गयो ।
सुन्धाराको एउटा डान्सबारमा कार्यरत १७ वर्षीया युवतीले ८० चक्की सिटामोल र नाम नखुलेको अन्य केही औषधि खाएर आत्महत्याको प्रयास गरिन् । नैकाप-८ की सिर्जना पनेरु ७० पिस स्लिपिङ ट्याबलेट एकैपल्ट खाएपछि अहिले अशक्त छिन् ।
पछिल्लो समय औषधिको ओभरडोज सेवन गरेर आत्महत्या प्रयास गर्ने यस्ता घटना बढेको प्रहरी तथ्याङ्कले देखाएको छ । प्रहरीका अनुसार श्रीमान्/ श्रीमतीबीचको साधारण विवाद, प्रेमी-प्रेमिकाबीचको असमझदारी, सामान्य तनावमै पनि औषधि ओभरडोज खाने गरेका छन् । यसबाट कतिले ज्यानै गुमाउने र धेरैजसो सधैंका लागि अपाङ्ग हुने गरेका छन् ।
उपत्यकाको सहरी तथा ग्रामीण दुवै क्षेत्रमा यस्तो प्रवृत्ति बढेको छ । यस वर्ष वैशाखदेखि चैतको तेस्रो सातासम्म उपत्यकाका काठमाडौं, ललितपुुर र भक्तपुुरमा १ सय ४८ वटा आत्महत्या प्रयासका घटना औषधिको ओभरडोज सेवनका कारण भएको महानगरीय प्रहरी आयुुक्तको कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठले बताए ।
प्रहरीका अनुसार तीमध्ये १ सय ३८ घटनामा ओभरडोज औषधि सेवनको कारण खुलेको छैन । कारण खुलेकामा ५ वटा घरायसी झगडा, २ वटा पढाइका कारण र ३ जना अञ्जानमा सेवन गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठका अनुसार ३७ वटा घटनामा प्यारा सिटामोल, २१ वटामा स्लिपिङ ट्याबलेट, ४ वटामा मानसिक रोगको औषधि, ब्रुफिन ४, एन्टिबायोटिक ३, कीटनाशक औषधि सेवन ३, निको ३ र ७३ वटामा अन्य छन् ।
औषधिबाहेक मट्टीतेल सेवन गरी आत्महत्या प्रयास गर्ने पनि भेटिएका छन् । एसएसपी श्रेष्ठका अनुुसार एक वर्षमा ओभरडोज औषधि सेवन गर्नेमा २० देखि ३० वर्ष उमेर समूहका ७७ जना, २० वर्षमुुनि ५८, ३१ देखि ४० वर्षका १२ र ४० वर्षभन्दा माथिका १ जना छन् ।
ती १ सय ४८ मध्ये २१ जना अहिले बोल्न नसक्ने अवस्थामा छन् । बिहान ६ देखि १२ बजेसम्म २१, दिउँसो १२ देखि ६ बजेसम्म ५६, साँझ ६ देखि राति १२ बजेसम्म ५६ वटा र १ देखि बिहान ६ बजेसम्म १२ वटा त्यस्ता घटना भएका छन् । यसले साँझ ६ देखि १२ बजेसम्म यस्ता घटना बढी भएको देखाएको छ ।
'औषधि पसलले चिकित्सकको प्रेस्त्रिmप्सनबिना औषधि बेच्नु भएन, घरमा अनावश्यक औषधि राख्नुभएन,' एसएसपी श्रेष्ठले कान्तिपुरसित भने ।
साभार :कान्तिपुर दैनिक
.jpg)
