ठिमुरे हत्याकाण्डका आरोपी ताराबहादुर बलामीलाई जन्मकैद
पाल्पा, चैत्र २६ - ठिमुरे हत्याकाण्डका आरोपी ताराबहादुर बलामीलाई जिल्ला अदालत पाल्पाले आइतबार जन्मकैदको फैसला सुनाएको छ । २०६७ माघ २६ गते पाल्पाको ठिमुरेमा चार जनाको ज्यान लिने गरी भएको हत्याकाण्डका आरोपी बलामी गत वैशाखदेखि पुर्पक्षका लागि थुनामा थिए । आरोपी चार जना सैनिक भए पनि तीन जनालाई भने अहिलेसम्म कानुनी दायरामा ल्याइएको छैन । अभियोग मागदाबी बमोजिम मुख्य अभियुक्त बलामीलाई मुलुक ऐन ज्यानसम्वन्धी महलको १३ (१) बमोजिम जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजालसले जन्मकैदको फैसला सुनाएको हो । ठिमुरेका प्रेमबहादुर बगाले समेतको जाहेरीले कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । नेपाल सरकारका तर्फबाट तत्कालीन जिल्ला न्यायाधिवक्ता खडानन्द गौतम र बहालवाला जिल्ला न्यायाधिवक्ता तोयनाथ पौडेलले बहस गरेका थिए । प्रतिवादीतर्फबाट कानुनव्यवसायी बुद्धबहादुर थापा र डिल्लीबहादुर कार्कीले बहस गरेका हुन् । हत्यकाण्डमा आरोपितलाई घर जाने बाटो देखाउने अर्की प्रतिवादी सिर्जना परियारलाई २० रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । गत वैशाखमा परियारलाई मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय ५ (१०ं) बमोजिम सय रुपैयाँ धरौटीमा अदालतले छाडेको थियो । फैसलामा तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवीन भण्डारी र पाल्पाका प्रहरी नायव उपरीक्षक पवन गिरीलाई उचित अनुसन्धान नगरेकाले सचेत गराउन भनिएको श्रेष्तेदार विश्वप्रसाद रेग्मीले बताए । स्रोत :कान्तिपुर दैनिक