|

व्यावसायिक र घरायसी उपभोक्ताका लागि भिन्नभिन्न कार्डमार्फत् ग्यास


विज्ञान अधिकारी, काठमाडौ, चैत १६- सरकारले घरायसी उपभोक्तालाई सहुलियतमा र व्यवसायिक प्रयोजनलाई परल मूल्यमा ग्यास बेच्ने तयारी गरेको छ। यसका लागि स्पष्ट संयन्त्र भने अहिलेसम्म बनाइएको छैन।

व्यावसायिक र घरायसी उपभोक्ताका लागि भिन्नभिन्न कार्डमार्फत् ग्यास बिक्री गर्ने योजना वाणिज्य तथा आपूर्ति मन्त्रालयको छ। संयन्त्रै नबनाई एउटै रंग र तौलको सिलिन्डर बिक्री गर्दा अनुदानको ग्यास सिलिन्डर दुरुपयोग हुनेछ।
मन्त्रालयले घरायसी उपभोक्तालाई वार्षिक ८ वटा सिलिन्डर र विद्यार्थीलाई ४ सिलिन्डर अनुदानमा दिने तयारी गरेको छ। घरायसी उपभोक्ता वा विद्यार्थी नै भए पनि योभन्दा बढी सिलिन्डर चाहिए परल मूल्यमै किन्नुपर्नेछ। सुरुमा व्यावसायिक र घरायसी उपभोक्ताका लागि छुट्टाछुट्टै तौलका सिलिन्डर बनाउने भनिए पनि मन्त्रालयले अहिले अचानक कार्ड बाँड्ने योजना ल्याएको हो।
'दुई किसिमका सिलिन्डरमा जाँदा लामो समय लाग्ने भएकाले कार्डमा जान खोजिएको हो,' मन्त्रालयका एक अधिकारी भने, 'ग्यास उद्योगी पनि इच्छुक नदेखिएकाले कार्डलाई प्राथमिकता राखेर लोकप्रियता खोजिएको हो।'

ग्यास बिक्रेता महासंघले ग्यास डिलर लिने इच्छुकलाई फारम वितरण थालेको छ। सरकारले मापदण्ड पूरा गरेकालाई मात्रै ग्यास कारोबार गर्न दिने निर्णय गरेपछि महासंघले बुधबारदेखि फारम बाँड्न थालेको हो।
'फारम संकलन गरेर ग्यास उद्योग संघमा पठाउँछौं,' महासंघका कार्यवाहक अध्यक्ष अर्जुन देवकोटाले भने, 'संघले अनुमोदन गरेपछि डिलर पाउनेछ।'
ग्यास डिलर लिएका कम्पनीले अन्य वस्तुको कारोबार गर्न पाउने छैन। सिलिन्डर, चुल्हो, पाइप, रेगुलेटरलगायत सामग्री मात्रै बेच्न पाउनेछन्। अहिले ग्यासको बिक्री वितरण खाद्यान्न, हाडवेयरलगायत पसलबाट समेत भइरहेको छ। डिलरले ग्यास बिक्रीस्थलमा अग्नि नियन्त्रक सामग्री अनिवार्य राख्नुपर्नेछ।
ग्यास संवेदनशील वस्तु भएको र कुनै पनि बेला आगो लाग्नसक्ने भएकाले अग्नि नियन्त्रक (फायर फाइटिङ मेसिन) राख्नुपर्ने व्यवस्था गरिएको हो। एउटा डिलरले दुई वटाभन्दा बढी कम्पनीको ग्यास बेच्न पाउने छैनन्। ग्यास कारोबार गर्ने डिलरले वाणिज्य विभागको अनुमति, राजस्व कार्यालयबाट प्यान नम्बर र महासंघको अनुमति पत्र लिनुपर्ने प्रावधान छ।


समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "व्यावसायिक र घरायसी उपभोक्ताका लागि भिन्नभिन्न कार्डमार्फत् ग्यास"

Leave a reply