|

शनिबारदेखि माओवादी लडाकु पुर्नवर्गीकरण सुरु

चितवनमा वर्गीकर प्रकृयामा सहभागी हुँदै लडाकु। तस्बिर:चाँदनी हमाल
काठमाडौं, मंसिर ३ - माओवादी लडाकु समायोजन, पुनःस्थापना र स्वैच्छिक अवकाशमा जाने वर्गीकरण शनिबारदेखि सुरु भएको छ ।

सेना समायोजन विशेष समिति सचिवालयका संयोजक तथा सदस्यहरुको उपस्थितिमा वर्गीकरण सुरु भएको हो । समिति प्रवक्ता एवं मुख्य सचिव माधवप्रसाद घिमिरेका अनुसार शनिबार बिहानैदेखि इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा, सुर्खेत र कैलालीका सातवटै मुख्य शिविरबाट सर्वेक्षण सुरु भएको छ ।

सचिवालयका अनुसार रोल्पा र कैलालीका शिविरमा भने सर्वेक्षण सुरु हुन ढिलाइ भएको छ ।धनगढीबाट मोहन बुढाऐरले जनाएअनुसार बिहीवार बेलुका सातौं डिभिजनको मुख्य कार्यालय तालवन्दमा आइपुगेको टोलीले   प्राविधिक पक्षलाई मिलाउने कार्यमा समस्या उत्पन्न हुँदा पुनःवर्गीकरण प्रकृया सुरु गर्नमा ढिलाइ भएको छ । आइतवारदेखि वर्गीकरण सुरु हुने छ ।टोलीका संयोजक एमाले सभासद् गोपालसिह बोहराले सवै कम्प्युटरको नेटवर्किङको सेटिङ गर्न  र  इन्टरनेट जोड्नमा प्राविधिक समस्या आइपरेकोले  ढिलो भएको बताए ।  उनले आफ्नै केही समस्याले ढिलो भएको भन्दै लडाकु तर्फबाट कुनै अप्ठ्यारो नभएको बताए  ।
टोलीमा  २५ अधिकृत  १२ जना कम्प्युटर अपरेटर र अन्य सहायक गरि ४४ जनाको टिम रहेको छ । उनले थोरै जनशक्ति भएकोले कहिले काम सकिन्छ भने भन्न नसकिने बताए ।

डिभिजन कमान्डर जिवन बुढाले बिहीवार असन्तुष्ट भएका साथी सहमतिमा आइसकेको बताए ।  समायोजन प्रकृयामा असन्तुष्टि ब्यक्त  बिहीवार रोलक्रम बहिस्कार गरेका बैद्य पक्षधर लडाकुको नेतृत्व गरेका कम्पनी कमान्डर रणबहादुर बिष्टले शुक्रवारदेखि शिबिर भित्रका सवै कृयाकलापमा सहभागी भएको बताए ।  'हाम्रो माग केही बिषयमा अस्पष्ट छ भन्ने मात्र थियो,' उनले भने ।
रोल्पाबाट काशीराम डाँगी र दुर्गालाल केसीले जनाएअनुसार सेना समायोजनको विषयलाई लिएर रोल्पामा रहेको माओवादी लडाकुको पाचौ डिभिजनमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य पक्षका लडाकुबीच देखिएको विवाद सहमतिमा टुङ्गएिको छ ।
दहवनमा रहेको उक्त डिभिजनमा लामो समय यता दुई पक्षका लडाकु बीचमा सेना समायोजनको विषयमा असहमति हुदै आएको थियो । पत्रकार सम्मेलन गरी दुई पक्षका कमाण्डरहरुले सेना समायोजनमा सहभागी हुने स्वीकार गरेका छन् । शनिबार दिउसो मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिभिजन कार्यकारी कमाण्डर राजबहादुर बुढा अविनाशले आन्तरिक छलफल भएको र सेना समायोजन सचिवालयबाट सुझाव लिएपछि सहमति भएको बताए ।
मुख्यालय दहवनमा शनिबार विहान अवेरसम्म लडाकु कमाण्डरहरुको पटक पटक बैठक बसेको थियो । जसका कारण ढिलो गरी पुनः वर्गीकरण कार्य सुरु भएको हो । विहान ८ बजेदेखि लडाकु लाइनमा बसेका थिए ।
फारम भर्न भित्र छिरेका लडाकुहरुले फारममा रहेको विवरणबारे असन्तुष्टि जनाएपछि कमाण्डर पुनः बीच छलफल हुने भनी वर्गीकरण कार्य दिउसो २ बजेसम्म स्थगित भएको थियो । दिउँसो २ बजे डिभिजनले पत्रकार सम्मेलन गरी वर्गीकरण सुचारु गर्ने सहमति जनाएको हो । अध्यक्ष दाहाल पक्षका कार्यकारी कमाण्डर अविनाशले अहिलेको सेना समायोजन प्रक्रियालाई सघाएर मुलुकमा शान्ति प्रक्रियालाई अर्थपूर्ण निष्कर्षमा पुयाउन आग्रह गरे ।
तर वैद्य पक्षका डिभिजन सहायक कमाण्डर रामरालल रोका मदनले प्रक्रियामा असहमति हुदा हुदै पनि वर्गीकरणमा भाग लिने प्रतिक्रिया दिए । पत्रकार सम्मेलनमा समय माग्दै मदनले संशोधनसहित दलहरुले गरेको ७ बुँदे कार्यान्वयन गर्नु पर्ने बताए । 'सेना समायोजनको समग्र प्रक्रियाप्रति हामी असहमति छौं । तर हाल चलिरहेको वर्गीकरणमा सहभागी हुने निर्णय गरेका छौं ।' उनले भने । 
डिभिजनका कार्यकारी कमाण्डर राजबहादुर रोकामगर 'अविनाश' का अनुसार पाचौ डिभिजनमा ५ सय ५१ महिला सहित २ हजार ४ सय ३८ लडाकु छन् । टिलास्थित ज्वार स्मृति बि्रगेडमा ४ सय ५८, दाङको संक्रामस्थित दीर्घ स्मृति बि्रगेडमा ५ सय ७१, रोल्पा मसिनास्थित मंगलसेन स्मृति बि्रगेडमा ५ सय ४१ र दहवनस्थित सुनील स्मृति बि्रगेड र मुख्यालय गरी ८ सय ५८ जना छन् ।
टोलीले आगामी १२ मंसिरसम्ममा वर्गीकरण सक्ने लक्ष्य राखेको छ ।
शनिबार बिहान ८ बजेदेखि सात वटै मुख्य शिविरमा लडाकुको वर्गिकरण कार्य सुरु भएको छ । सिन्धुलीमा ५४ जना र नवलपरासीमा ७४ जनाको वर्गीकरण सकिंदासम्म दुवैस्थानमा पुनःस्थापनामा जाने लडाकु भेटिएका छैनन् । समायोजन र अवकाशमा जानेको संख्या लगभग बाराबरी रहेपनि समायोजनमा जानेको संख्या थोरै बढी छ ।
दोस्रो डिभिजन सिन्धुलीका प्रमुख सुक बहादुर रोक्काले भने–‘पुनःस्थापनाको प्याकेज भरपर्दो नदेखिएकाले त्यसतर्फ साथीहरुको आकर्षण देखिएको छैन ।’ पुनःस्थापनाका लागि ६० भन्दा बढी विकल्प दिइएपनि कुनैपनि भरपर्दो नरहेको लडाकुहरुको भनाई छ ।
नवलपरासीबाट बेचु गौंडले जनाएअनुसार झ्यालटुङडाडामा रहेको माओवादी लडाकुको चौथों डिभिजन अन्तरगतका लडाकूहरुको पुन:वर्गिकरण कार्य पहिलो शनिवार १ सय ५० जना लडाकु पुनरवर्गिकरण प्रक्रियामा सहभागी भएका छन् । ती मध्ये अधिकांशले समायोजनमा जानेमा फारम भरेका हुन् ।
'सेनामा जाने मन थियो, तर घरको समस्याले स्वैच्छिक अवकाश लिन मनस्थिति बनाएको छु ।' जाजरकोटको ढिमेका गोरखबहादुर रोकाय घरमा बसेकी पत्निसँग शुक्रबार गरेको सल्लाहले समायोजनमा नभई स्वैच्छिक अवकाश लिने योजना बनाएका हुन् ।
सात बुंदे सम्झौता अनुरुप लडाकु वर्गीकरणको काम मुख्य शिविर दशरथपुरमा शनिबार हिान चलिरहेका वेला घोराही सतबरीया बिग्रेडको मुल गेट ड्यूटीमा खटीएका गोरखबहादुर रोकायले भने, 'सेना हुने इच्चा थियो, तर घरयासी समस्याले समायोजनमा जान सकिएन ।'
परिवारको सल्लाहमा स्वैच्छिक अवकाश लिने योजना बनाएका गोरखले गाउँ भत्केको बारी र घरलाई सपारी कृषि पेशा गर्ने बताउँछन् । भन्छन्, 'हिजो जनता र देशका लागि हतियार उठाइयो, अब आफ्नै घर बनाउने तयारीमा छु ।'
शिविरमा सैनिकको जिम्मेवारी निर्वाह गर्दै आएका उनले गाउँमा कृषक समूह बनाई सुन्तला र तरकारी खेती गर्ने बताए । उनले भने, 'कृषि कार्यालयको सल्लाहमा गाउँमा कृषि पेशा गर्ने तयारी गरेको छु ।'
गोरख जस्तै घोराही सतबरीयाकै गेट ड्यूटीमा रहेका जुम्ला राहा लिहीका कालीबहादुर नेपाली युद्धमा होमिदा देखि सैनिक हुने चहाना पुरा गर्ने योजना बनाएका छन् । उनले समायोजनमा जानका लागि घरपरिवारसँग सल्लाह समेत लिइसहेको बताए । उनले भने, 'युद्ध गर्दा देखि नै मेरो चहाना सेना हुने थियो, अहिले पनि सेना नै हुने इच्छा छ ।'
सरकारले तयार गरेको तीन वटा प्याकेजलाई छनौट गर्ने गोरखबहादुर र कालीबहादुरले मात्र होइन, शिविरका सबैले आफुले प्याकेज छनौट गर्नु अघि घरपरिवारको सल्लाह लिने गरेका छन् । वर्गीकरण गर्ने स्थलमा समेत फोन मार्फत घरपरिवार वा साथी भाईको सल्लाह लिने व्यवस्था मिलाइएको छ ।
विहान साढे ८ वजेदेखि थालिएको पुर्नवर्गिकरणको काम प्राविधिक समस्या भएको भन्दै आइतबार विहानदेखि थालिने गरि स्थागित गरिएको छ । विहान सढे ८ वजेदेखि करिव १० वजेसम्म १२ जनाको वर्गिकरणको काम सकिएपछि इन्टरनेटको सरोवरमा समस्या भएकाले स्थगित गरिएको पुर्नवर्गिकरण टोलीका संयोजक दिपक भट्टले बताएबका छन् ।
वर्गीकरण प्रक्रियामा गएका लडाकुहरुलाई व्यक्तिगत विवरण, प्रक्रिया, प्याकेज बारे जानकारी, घर वा सार्थीभाईसँग कुन प्याकेज रोज्ने भन्ने सल्लाह गर्ने लगायतको स्थानको व्यवस्था गरिएको संयोजक भट्टले बताए ।
उक्त प्रक्रियापछि व्यवस्था छुट्टा छुट्टै तीनवटा टेन्टमा गएर उनीहरुले चाहेको प्याकेजका आधारमा परक रंगका परिचयपत्र दिने टोलीले जनाएको छ ।
छैठौ डिभिजनका डिभिजन कमाण्डर महेन्द्र शाहीले आन्तरिक तयारी पुरा नभएकाले वर्गीकरणको काम स्थगित गरिएको जनाएका छन् । डिभिजन कमाण्डर शाहीले भने, 'हाम्रो पनि तयारी पुगेको छैन्, टोलीको पनि पुगेन र स्थगित गरियो ।'
यसैवीच समायोजन प्रक्रिया प्रति असहमति जनाउँदै आएका डिभिजन सहायक कमाण्डर दुर्गाप्रसाद चौधरीले प्रक्रियाको सच्याइनु पर्छ भन्ने हाम्रो माग हो, अवरोध गर्ने होइन, उनले भने 'यदि अवरोध गर्न चाहेको भए प्रक्रिया नै अघि बढ्ने थिएन ।'
पाँच लाख रुपैयाँ घुस खुवार सेना समायोजनमा गए जस्तो यो प्रत्रियाले माओवादी लडाकुको अपमान भएको उनको आरोप थियो । कमाण्डर चौधरीले भने, 'हामी शान्ति विरोधी होइनौ, प्रक्रिया पुरा गर्नेमा सहमत छौं ।'
माओवादी लडाकुको मुख्य शिविरमा वर्गीकरणको काम भइरहेका वेला घरवासको ग्यारेन्टी, उपचार, पेन्सन र वालवालिकालाई पढाई दिनु पर्ने लगायतका माग लिएर घाइते लडाकु भने प्रधानमन्त्रीसँग भेट गर्न शनिबार हिंडेका छन् ।

                                                                                                                                      स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शनिबारदेखि माओवादी लडाकु पुर्नवर्गीकरण सुरु"

Leave a reply