ग्ल्यामर पोखरा
कास्की, अषाढ २५ - टु पिस पहिरनमा फोटोसुट गरेकी तालनगरीकी दीपा कार्की ग्ल्यामरमा केही उदार छिन् । ओहो अलि बढी ग्ल्यामर भएन र पंक्तिकारको वाक्य खस्न नपाउँदै उनले जवाफ फर्काइन्, 'जमाना ग्ल्यामर नै छ त अनि हुनु परेन त ?'केही समययता सुस्ताएको पोखराको मोडलिङ फस्टाउँदै गएपछि ग्ल्यामर पहिरनमा ठाँटिएर हिँड्ने तन्नेरीहरू बढेका हुन् । आम्मै कस्तो पहिरन, सुरुका दिनमा ग्याल्मर पहिरन गरेर हिँडनेहरू देखेर धेरैले यसरी नै जिब्रो टोक्थे । तर अहिले जमाना बदलिएको छ । 'अहिले समय नै ग्याल्मरको छ,' मोडलिङको संसारमा होमिएकी मोडल एन्जिला थापा भन्दै थिइन्, 'समयअनुसार चलिएन भने त पछि परिहालियो नि ।' हो त, उनले भने जस्तै अहिले पोखरामा ग्ल्यामरको होड बढेर गएको छ । मोडल मात्र होइनन् अन्य युवायुवतीहरू पनि सेक्सी लुक्सका लागि ग्ल्यामर प्रदर्शन गर्न चुक्दैनन् । पहिला जस्तो छोटो पहिरन गरेर हिँड्दा जिब्रो टोक्ने समय अहिले यहाँ छैन ।
बरु यहाँ ग्ल्यामर प्रदर्शन गर्नेहरूको होड बढ्दै छ । बढेको फेसन गतिविधिले यहाँको ग्ल्यामरले राजधानीलाई पनि माथ गरेको छ । पहिरन खोज्दै पहिला जस्तो अहिले राजधानी धाउनु पर्दैन, फेसन डिजाइनर सविता शेरचन भन्छिन्- 'सबै डिमान्ड पोखराले नै पूरा गरिदिन्छ ।' बग्रेल्ती खुलेका बुटिकदेखि उच्चस्तरीय फेसन हाउसले युवायुवतीको चाहना पनि परिपूर्ति गराइदिएको छ । हङकङ, बेलायत अमेरिका बसोबास गर्ने यहाँको जमात बाक्लो छ । उनीहरूले नै यहाँ आएर अझ बढी ग्ल्यामरको टे्रन्ड बसालिदिएका छन् । 'पोखरा ग्ल्यामर फेसनको मामिलामा कहाँको कम हुनु,' मिस्टर कास्की २००२ का दीपक बानियाँ भन्छन्, 'पहिला र अहिलेको पोखराको ग्ल्यामर तुलना गर्न मिल्दैन ।'
हो त अहिले युवतीहरू मात्र होइन युवाहरू पनि ग्ल्यामर पहिरनको मामिलामा कम देखिँदैनन् । कुनै समय फेसन शोका र्याम्पमा उत्रन समेत धक मान्नेहरू आजभोलि जुनसुकै बेला पनि टु पिस पहिरनमा ग्ल्यामर देखाउन पछि हट्दैनन् । यस्तो ग्ल्यामर पहिरन किन भन्ने प्रश्न राख्न नभ्याउँदै फेसनेबल युवतीहरू जवाफ फर्काइहाल्छन्, 'जमाना अनुसार चल्न पनि हिच्चिकचाउनु हुन्छ
त ?' अभिभावकहरूको फराकिलो सोचाइले पनि यहाँको ग्ल्यामर फिल्ड फस्टाउँदै गएको छ । त्यसो त पछिल्लो समयमा यहाँ वेबसाइट मोडलिङको विकासले गर्दा पनि ग्ल्यामर क्षेत्र फस्टाउने मौका पाएको हो । यहाँ चल्तीमा रहेका लभ्लीपोखरा डकटकम, पोखरासिटी डकटकम आदि वेबसाइटहरूले ग्ल्यामर फोटोसेसनलाई महत्त्व दिँदै आएका छन् ।
वेबसाइटको टाउकोमा ग्ल्यामर तस्बिर राखेर आफ्नो व्यवसायको प्रवर्द्धन गरिरहेका छन् । वेबसाइटले पनि ग्ल्यामर क्षेत्र प्रतिको दृष्टिकोणमा परिवर्तन ल्याइदिएको छ, लभ्लीपोखरा डटकमका ओम लामाले भने, 'ग्ल्यामर फोटोसेसनको आकर्षण बढेको छ । त्यसैगरी यहाँ भइरहने सौन्दर्य प्रतियोगिता फेसन शो र म्युजिक भिडियो निर्माणको रफ्तारले पनि ग्ल्यामर क्षेत्रको आकर्षणले हरेकलाई तान्दै लगेको छ । नगरको चोक होस् या गल्ली, ग्ल्यामर छनक दिने पहिरनको प्रदर्शन गर्नेहरूको संख्या पनि बढेर गएको छ ।
source:kantipurnews

