माओबादी नेताहरु सहमति नजिक
विनोद परियार, बुटवल
काण्ठमाण्डौं,७ साउन । माओवादी नेताहरु पार्टी भित्रको कार्यविभाजनका विषयमा सहमति नजिक पुगेका छन् । कार्यविभाजनकै विषयलाई लिएर पार्टी भित्र लामो समयदेखि अन्तरसंघर्ष चर्केको थियो ।
शनिबार भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले तत्काललाई संसदीय दलको नेता आफू नै रहने गरी अन्य पदमा जिम्मेवारी बाँडफाँटको प्रस्ताव गरेका छन् । दाहालले गरेको प्रस्तवालाई तीन उपाध्यक्ष लगायतले बिरोध गरेका छैनन् । बैठकपछि प्रवक्ता दीनानाथ शर्माले नेताहरुबीच करिब करिब सहमति भइसकेको बताए ।
उपाध्यक्ष मोहन वैद्यलाई संगठन तथा अनुशासन विभाग प्रमुख, अर्का उपाध्यक्ष बाबुराम भट्टराई भावी सरकारको प्रधानमन्त्री र संसदीय बोर्ड प्रमुख,त्यस्तै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई वर्तमान सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्दै पठाउने अध्यक्ष दाहालले प्रस्ताव गरेका छन् । त्यसैगरी महासचिव रामबहादुर थापालाई सैन्य ईन्चार्ज,सचिव सीपी गजुरलेललाई बाहिरी मोर्चा ईन्चार्ज तथा अर्का सचिव पोष्टबहादुर बोगटीलाई विभिन्न दलसंग वार्ता गर्दाको टोली संयोजक बनाउने अध्यक्ष दाहालको प्रस्ताव छ । कार्यविभाजन सम्बन्धी दाहालले गरेको प्रस्तावलाई शनिबार नै बसेको स्थायी समिति बैठकले अनुमोदन गरेको छ । यसअघि शुक्रबार पदाधिकारी बैठक र नेताहरुसंग छुट्टा–छुट्टै परमार्श गरेर दाहालले यो प्रस्ताव तयार गरेका हुन् शनिबारको बैठकमा अध्यक्ष दाहालले राखेको प्रस्ताव उपर तीन उपाध्यक्ष र महासचिवले धारणा राखेका छन् । नेताहरुले प्रस्तावको बिरोध गरेका छैनन् । बैठक आइतबार ११ बजे बोलाइएको छ ।