6:09 PM | Posted by Butwalonline
पूर्ण बस्नेत, बेइजिङ, असार २५- गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले वोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतीबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ। 'बुद्धिजमः म्यापिङ एसियाज हिस्ट्री एण्ड कल्चर' विषयमा भएको कार्यक्रमका एक सहभागीका अनुसार 'बुद्ध भारतको कपिलबस्तुमा जन्मेका थिए' भनेर लेखिएको पोष्टर कार्यक्रम स्थलमै टाँसिएको थियो। 'आयोजकले कार्यक्रम स्थलमा टाँसेको पोष्टरबाट बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने कुरा तोडमोड गर्न खोजेको प्रष्ट बुझिन्थ्यो', कार्यक्रमका एक नेपाली सहभागीले भने।
'भारतीयहरू बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ विहारको वोधगयाको मात्र चर्चा गरेर लुम्बिनीलाई ओझेल पार्न खोज्दैछन्', कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन बेइजिङ आएका अध्येता रमेश ढुङ्गेलले भने, 'बेइजिङमा पनि उनीहरूले बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर खुलेर चर्चा गर्न चाहेनन्।'
ढुङ्गेल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसिया अध्ययन केन्द्रको बुद्धिष्ट एण्ड हिमालय स्टडिजका संयोजक हुन्। ४ असारदेखि तीन दिनसम्म चलेको कार्यक्रममा उनले बुद्धिजमको पुर्नउत्थानमा नेपाली अध्येता अमृतानन्दको योगदानबारे प्रस्तुती दिएका थिए। कार्यक्रममा भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येताहरू सहभागी भएका थिए।
भारतको सांस्कृतिक कूटनीति हेर्ने संस्था इण्डीयन काउन्सिल फर कल्चर रिलेसनस् (आइसीसीआर) र पेकिङ युनिभर्सिटिसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको यो कार्यक्रम आयोजना गरेको हो। कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको आइसिसिआरमा भारतीय विदेश मन्त्रालयका सहसचिव योगेश्वर वर्मा उपनिर्देशक छन्। भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियानमा रहेको आइसीसीआरले काजकिस्तान, हंगेरी, इण्डोनेसिया, थाइल्याण्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यसअघि नै कार्यक्रम गरिसकेको छ।
ढुङ्गेल संयोजक रहेको बुद्धिष्ट एण्ड हिमालय स्टडिज र काठमाडौंस्थित भारतीय दूतावाससँग मिलेर आइसीसीआरले तीन महिनाअघि काठमाडौंमा यस्तै कार्यक्रम गरेको थियो। 'बुद्धको जन्मस्थल हाम्रो देशमा पर्ने मात्र होइन, बुद्धिजमको पुर्नस्थापनामा पनि नेपालको ठूलो योगदान छ तर हामीलाई ओझेलमा पार्न खोजिँदैछ', ढुङ्गेलले भने, 'काठमाडौंको कार्यक्रममा चाहिँ बुद्धले नेपालमा जन्मेर भारतमा ज्ञान प्राप्त गरेको भन्ने कुरा अवधारणा पत्रमै राख्न सफल भएका थियौं।'
बेइजिङमा कार्यक्रमको उद्घाटन गर्दै विहारका मुख्यमन्त्री नीतिश कुमारले नालन्दा विश्वविद्यालय पुर्नउद्धार गरी वोधगयालाई अन्तर्राष्ट्रिय बुद्धिजम अध्ययनकेन्द्र बनाउने उद्घोष गरेका थिए। बिहारमा नालन्दा अन्तर्राष्ट्रिय विश्वविद्यालय पुर्नउद्वार गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले भारतको केन्द्र सरकारले त्यसका लागि बजेट छुट्याउने जनाए।
ढुङ्गेलका अनुसार बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने भारतीय योजनाको एउटा महत्वपूर्ण पक्ष नालन्दा विश्वविद्यालयको पुर्नउद्धार हो, जसमा चीन लगायत पूर्वी एसियाका दसौं हजार बौद्धमार्गी विद्यार्थी तान्न सकिने विश्वास गरिएको छ। यसमा चीनको तर्फबाट दस लाख अमेरिकी डलर तत्काल लगानी गर्ने घोषणा बेइजिङको कार्यक्रममा गरिएको थियो।
बौद्ध विश्वविद्यालयसहित नेपालको लुम्बिनीलाई बौद्ध मार्गीको अन्तर्राष्ट्रिय केन्द्र बनाउने योजनामा चीनलगायत पूर्वी एसियाली देशका सरकार र संघसंस्थाले लगानी गर्न चासो देखाएका छन्। बौद्धमार्गीको अन्तर्राष्ट्रिय केन्द्र बन्न भारतले चलाएको आक्रामक अभियानले लुम्बिनीको विकासमा असर पुग्न सक्ने ठानिएको छ
Source:NagarikNews
सम्बन्धित शीर्षकहरु: News

Posted by Butwalonline
on 6:09 PM. Filed under
News
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response