|

बलात्कार आरोपीलाई १० वर्ष कैद

ध्रुव दंगाल, सिन्धुपाल्चोक, जेठ २५- जिल्ला अदालतले बलात्कारको कसुरमा दुईजनालाई १०/१० वर्ष कैद सजाय सुनाएको छ। डेढ वर्षअघि एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनामा सानो सिरुबारी-२ का सानु भन्ने देवबहादुर घले (२०) र सानोसिरुवारी-४ कै तिलक भनिने राजुबहादुर घले (२२) ले जनही १० वर्ष कैद सजाय पाएका हुन्। जिल्ला न्यायाधीश वीरबहादुर डाँगीको इजलासले हालै यस्तो फैसला गरेको हो। अदालतले पीडित किशोरीलाई उनीहरुबाट १०/१० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ। अदालतको अभिलेखफाँटका कर्मचारी हरि नेपालका अनुसार घटनाका अर्का अभियुक्त सानोसिरुवारी-४ का रामबहादुर भारतीको मुद्दा भने मुल्तबीमा राखिएको छ। भारती फरार छन्।

मुलुकी ऐनको महल १४ को दफा १ अन्तर्गत ५ वर्ष र सोही महलको दफा ३ व्यवस्था भएबमोजिम सामूहिक करणी भएकाले थप पाँच वर्ष कैद सजाय तोकिएको हो। 'कानुनी व्यवस्था अनुरुप सामूहिक करणीमा थप सजाय दिइएको पहिलो पटक हो,' नेपालले नागरिकसँग भने।

स्थानीय ठूलीचौर जंगलमा घाँस काट्न गएका बेला २०६६ असोज १७ गते १४ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार बनेकी थिइन्। घटनाको भोलिपल्ट पीडितका बाबुले घलेद्वय र भारतीविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरी परेकै दिन घले द्वय पक्राउ परेका थिए।

जिल्ला न्यायाधिवक्ताले भने घलेद्वयलाई १५ वर्ष कैद सजाय दाबी गरेका थिए। उनीहरु पक्राउ परेको दिन ०६६ असोज १८ गतेबाट कैद सजाय गन्ती हुने अदालतले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको रेकर्ड अनुसार पछिल्लो तीन वर्षमा बलात्कारका २४ घटना अदालत पुगेका छन्। घटनाका अधिकांश अभियुक्त पुर्पक्षमा थुनामा छन्।

सात वर्षीया बालिकादेखि १७ वर्ष उमेरका किशोरी बढी बलात्कारको सिकार हुने गरेको प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। उनका अनुसार ७७ वर्षसम्मका वृद्ध बलात्कार अभियोगमा कारागारमा छन्।


Source:Nagarik News

Posted by Butwalonline on 7:40 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बलात्कार आरोपीलाई १० वर्ष कैद"

Leave a reply