आजदेखि उपसमिति सक्रिय हुने
काठमाडौ, जेष्ठ २६ - नयाँ संविधानको मस्यौदा लेखनका क्रममा देखिएका विवाद मिलाउन गठित संवैधानिक समिति अन्तर्गतको उपसमिति बिहीबारदेखि सक्रिय हुने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको उपसमितिको बैठक बिहीबारदेखि नियमित बसी विवादित विषयमा सहमति खोज्ने सभामुख सुवास नेम्वाङले बताए । उपसमितिमा शीर्षनेता सम्मिलित छन् । संविधानसभाको म्याद थपिएपछि पहिलो पटक उपसमितिको बैठक बस्न लागेको हो । जेठ ६ पछि उपसमितिको बैठक बसेको छैन । पछिल्लो पटक बसेको बैठकले नयाँ संविधानको नाम 'नेपालको संविधान' राख्ने सहमति जुटाएको थियो ।
यसैबीच १४ जेठमा तीन दलबीच भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न सभामुखको संयोजकत्वमा बनाइने भनिएको अनुगमन समिति जेठ ३० मा संसद्मा पेस हुने भएको छ । यसैबीच सभामुख नेम्वाङ संयोजक रहेको संसदीय अनुगमन समितिले लुम्बिनी विकास समितिले अहिलेसम्म गरेका काम, समस्या र गुरुयोजनाको काम-कारबाहीसम्बन्धी अहिलेसम्मको प्रगति माग गरेको छ ।
समितिले लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृतीमन्त्रीलाई पत्र पठाएर हालसम्म भएका कामकारबाहीका सम्बन्धमा जानकारी माग गरेको हो ।
Source:KantipurNews