माओवादीको जनपरिचालन अभियान सुरु
१ जेठ, काठमाडौँ । एकीकृत नेकपा (माओवादी) ले आजदेखि मुलुकभर एकैसाथ जनपरिचालन अभियान थालेको छ । आजदेखि सुरु अभियान आगामी १० जेठमा सकिने सो पार्टीले जनाएको छ ।
माओवादीले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरिनुपर्ने, प्रतिक्रान्तिकारी षड्यन्त्र रोक्नुपर्ने लगायत सीमा अतिक्रमण रोक्न र अतिक्रमित भूमी फिर्ता गर्न दवाव दिने उद्येस्यले अभियान सुरु गरेको हो । अभियानका क्रममा प्रचार-प्रसार, पर्चा-पम्प्लेटिङ् छलफल, अन्र्तक्रिया, घरदैलो लगायतका कार्यक्रम सञ्चालन गरिने सचिव पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो ।
पछिल्लो पटक बसेको माओवादी केन्द्रीय समिति बैठकले अभियान अन्तर्गत राजधानी लगायत पोखरा, नेपालगञ्ज, धनगढी, जनकपुर र विराटनगरसहित मुख्य शहरहरुमा आमसभा गर्ने निर्णय गरेको थियो ।
अभियानको अन्तिम दिन जेठ १० गते राजधानीमा हुने सभालाई अध्यक्ष प्रचण्ड, जनकपुरको सभालाई उपाध्यक्ष डा. बाबुराम भट्टराई, धनगढीमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,’प्रकाश’ तथा पोखरामा आयोजित सभालाई महासचिव रामबहादुर थापा ‘बादल’ ले सम्वोधन गर्ने कार्यक्रम छ ।
यस्तै विराटनगर र नेपाल गञ्जमा आयोजित सभालाई क्रमश चन्द्रप्रकाश गजुरेल र लिलामणि पोखरेलले सम्वोधन गर्ने माओवादीले जनाएको छ ।
Via Source:onlinekhabar