प्रचारप्रसारको अभावमा अर्घाखाँचीका धेरै पर्यटकीय स्थल ओझेलमा
पि.एम.मगर,गुल्मी, फागुन १८ – प्रचार प्रसारको अभावमा अर्घाखाँचीका पर्यटकीय महत्वका स्थल ओझेलमा परेका छन् । धार्मिक, साँस्कृतिक दृष्टिले महत्वपुर्ण पर्यटकीय स्थलको प्रचार गर्न सके लुम्विनी अञ्चलमा पर्ने पहाडी जिल्ला अर्घाखाँचीलाई अन्तराष्ट्रिय क्षेत्रसम्म पु¥याउन सकिने प्रचुर सम्भावना छ । आय आर्जनको गतिलो माध्यम वनेको पर्यटकीय व्यवसायलाई वढावा दिन त्यहाँका महत्वपुर्ण पर्यटकीय गन्तव्यलाई व्यवासायिक वनाउन सरोकारवालाले लामो समयदेखि माग गर्दै आएका छन् । सरकार र अन्य सम्वन्धित निकायले भने यसमा खासै ध्यान दिईरहेको छैन । प्रचार प्रसारको अभावमा अर्घाखाँचीले वार्षिक करोडौँ रुपैयाँको आम्दानी गर्न सक्ने श्रोत गुमाईरहेको उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्रप्रसाद भुसालले वताउनुभयो । जिल्लाको अर्घा भगवती मन्दिर, नरपानी, सुपा देउराली मन्दिर, पाणिनी तपोभूमि, बलकोटको पौवा, परशुरामेश्वर मन्दिर, दुर्वाशेश्वर गुफा, ठाडाको डमरु दह, सन्धिखर्कको शान्ति वगैचा, मथुरावेँसीधाम, छत्र महाराजको मन्दिर, मालारानी लगायतका दर्जनौँ पर्यटकीय स्थलले लाखौँ पर्यटकलाई स्वागत गर्न पर्खिरहेका छन् । ती स्थानका जीणोद्धार तथा मर्मत गरी प्रचार गर्न सके त्यस क्षेत्रवाट मात्र वार्षिक करोडौँको आर्जन गर्न सकिने सरोकारवालाहरुको भनाई छ । हजारौँ युवाले रोजगारी पनि पाउन सक्छन । पछिल्लो समय धार्मिक पर्यटनलाई आर्थिकोपार्जनका हिसावले विकास गर्ने प्रचलन सुरु भईसकेको छ । धार्मिक पर्यटन विकासमा थुप्रै मुलुकले करोडौँ रुपैयाँ लगानी समेत गर्न थालेका छन् । धार्मिक पर्यटकले गर्ने खर्च र बसाई अवधि वढाउन पुर्वाधार विस्तार अत्यावश्यक छ । ऐतिहाँसिक तथा धार्मिक महत्व वोकेको अर्घा भगवती मन्दिर त्यहाँ प्रमुख पर्यटकीय गन्तव्य हो तर प्रचार प्रसारको अभावमा यसको महत्व धेरैलाई जानकारी गराउन सकिएको छैन । यो मन्दिर क्षेत्र चौविसे राज्यको पालामा दरवार रहेको विभिन्न अध्ययनले देखाएको छ । त्यस मन्दिरमा कोजाग्रत पुर्णिमा, राम नवमी, कृष्णजन्माष्टमी लगायतका पर्वमा ठुलो मेला लाग्ने गर्दछ । मन्दिरको उत्तरतर्फ मनै लोभ्याउने आकर्षक हिमश्रृंखलाको दृश्यावलोकन गर्न पाईन्छ भने दक्षिणतिर तराईका समथर फाँट अनि भारतीय भूमि समेत देख्न सकिन्छ । संस्कृत भाषको व्याकरण रचना गरिएको अर्घाखाँचीको पाणिनी तपोभूमि पनि अहिले अझेलमा परेको छ । हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले तपस्या गरी संस्कृत व्याकरण रचना गरेका थिए । यो तपोभूमि क्षेत्र विश्वको भाष सम्पदाको प्रमुख स्थल समेत हो । नरपानी र सुपा देउराली मन्दिरमा दैनिक सयौँ पर्यटक आउने गर्दछन् । सुपा देउराली मन्दिरमा विभिन्न पशुपंक्षी बली चढाउने गरिन्छ । मथुरावेँसी धाम, बलकोटको पौवा, परशुरामेश्वर मन्दिरको ऐतिहाँसिक र धार्मिक महत्वका वारेमा जानकारी गराउन सके हजारौँ पर्यटक भित्राउन सकन्छि । जंगवहादुर राणा त्यही जन्मिएको र उनको न्वारन समेत भएको जनविश्वास रहेको छ ।