चौथो कपिलबस्तु महोत्सव यही माघ ११ देखि २१ सम्म
कपिलबस्तु , माघ ३ - चौथो कपिलबस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी यही माघ ११ देखि २१ सम्म बुद्ध रङ्गशालामा आयोजना हुने भएको छ। कपिलवस्तु व्यापार सङ्घ तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, कपिलवस्तुद्वारा आयोजना गरिने सो मेलाको उद्देश्य जिल्लामा क्रियाशील लघु, मझौला तथा ठूला उद्योगहरू तथा उद्यमीको प्रचारप्रसार, उत्पादनको व्यापार तथा प्रवर्द्धन रहेको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
करिव दुई लाख मानिसले महोत्सवको अवलोकन गर्ने र महोत्सव अवधिभरमा रु दुई करोडको कारोबार हुने पनि आयोजको अपेक्षा रहेको छ।
प्रेस विज्ञप्तिमा महोत्सवमा स्थानीय, राष्ट्रिय कृषि तथा औद्योगिक उत्पादन तथा प्रविधिका २५० कक्ष रहने उल्लेख गरिएको छ।
कार्यक्रममा महोत्सवका संयोजक एवम् कपिलबस्तु व्यापार सङ्घका अध्यक्ष देवीप्रसाद पाण्डेले कपिलवस्तुका भगवान गौतमबुद्धसँग सम्बन्धित ११६ स्थल लोप हुने अवस्थामा रहेकाले संरक्षण गर्नुपर्ने खाँचो औंल्याए ।
उनले पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने भगवानबुद्धको जन्मस्थलको विभिन्न पवित्रस्थलको प्रचारप्रसार गर्ने तथा भगवान बुद्धको जन्म भारतमा भएको भनी केही भारतीयहरुले फैलाउन खोजेको भ्रमलाई हटाउन पनि सङ्घले स्थापना कालदेखि नै महोत्सबको आयोजना गर्दै आएको जानकारी दिए ।
सङ्घका सल्लाहकार यज्ञप्रसाद भट्टराईले बुद्धको जन्मस्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण भएपनि पर्यटकीय दृष्टिले पछाडि परेको धारण राखे ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकारी सुमन घिमिरेले बुद्धको जन्मस्थललाई प्रचारप्रसार गर्न बुद्ध परिक्रमाको योजना अघि सारेको बताए । रासस(स्रोत : नागरिक न्यूज)